Logo

राजदुत मोरिसको मृत्युको कारण अझै पत्ता लागेन



लण्डन, ८ असोज । नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको मृत्युको कारण अझै पत्ता लाग्न सकेको छैन । शुरुवाती अनुसन्धानले उनको मृत्यु के कारणबाट भयो अझै निर्क्यौल हुन नसकेको आज भएको भर्चुअल सुनुवाईमा बताइएको छ ।

मे ६ तारिखका दिन घरबाट दौड्न निस्केका मोरिसको शव महिनौँपछि गत अगष्ट ३१ तारिखका दिन भेटिएको थियो । महिनौँको बृहत खोजीमा पनि फेला पर्न नसकेको मोरिसको शव एक सर्वसाधारणले उनको घरभन्दा तीन माइलको दुरीमा फेला पारेका थिए ।

उनको शवको पोष्टमोर्टम गरिए पनि उनको मृत्युको चिकित्सकीय कारण ‘अज्ञात’ रहेको बताइएको ह्याम्पसायरका वरिष्ठ कोरोनर क्रिष्टोफर विल्किन्सनले जानकारी दिए । उनले कन्सल्ट्यान्ट फरेन्सिक पाथोलोजिष्ट डा। रसेल डेलानीले मोरिस शवको पोष्टमार्टम गरेको र ‘वर्तमान अवस्थामा मृत्युको कारण बताउन नसकिने’ जानकारी दिएको बताए ।

थप प्रमाणहरुका साथ मोरिसको मृत्युको कारणहरुको पूर्ण समीक्षा २३ जुन २०२१ मा हुने बताइएको छ । विन्चेष्टर कोरोनर्स कोर्टमा भएको सुनुवाईमा कोरोनर विल्किन्सनले रिचर्ड मोरिसको ठानिएको शव एलिस हल्ट जंगलमा अगष्ट ३१ मा भेटिएको र डीएनए परीक्षणपश्चात ओैपचारिकरुपमा पहिचान भएको बताए । प्रहरीले उनको केस सेप्टेम्बर १ मा कोरोनरलाई हस्तान्तरण गरेको थियो भने कोरोनरले १४ सेप्टेम्बरमा डीएनए परीक्षण गरेको थियो । सेप्टेम्बर १६ मा भेटिएको शव मोरिसको भएको ओैपचारिक पुष्टी भएको थियो ।

मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायतका राजदुत रहेका थिए । उनको अर्को पोष्टिङ फिजीमा भएको थियो । बेलायतको कुटनीतिक सेवामा ३० वर्षभन्दा बढी समय बिताएका उनले कैयौँ उच्च अनुभव सम्हालेका थिए । प्रहरीले उनको मृत्युलाई सन्देहास्पदरुपमा नलिएको समाचार आजको वीनेपालीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्