Logo

कोलकाता बन्दरगाहमा नेपाली कार्गोलाई ईडीआई प्रणाली अनिवार्य



वीरगञ्ज, असोज ८ । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाह भन्सारले इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली अनिवार्य गरेको छ । कोलकाता बन्दरगाह हुँदै कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो ।

कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन गत शुक्रवारदेखि ईडीआई अनिवार्य गरिएको हो । १ वर्षअघि नै लागू गरिएको यो प्रणाली यसअघि अनिवार्य थिएन ।

भारतीय भन्सारमा हुने सीटीडी प्रक्रियालाई छरितो बनाउन अनलाइनमा आधारित प्रणाली लागू भएको बन्दरगाहका अधिकारीले बताएका छन् । भारतीय सीमाशुल्क प्रधान आयुक्तको कार्यालयले यो बन्दरगाह हुँदै भारतका लागि आउने कार्गोमा यसअघि नै यो प्रणाली अनिवार्य गरिसकेको छ ।

यो प्रणालीमार्फत कार्गोको सीटीडीका लागि आयातकर्ताले अनलाइनबाटै कागजात पेश गर्ने व्यवस्था मिलाइएको छ । यसबाट कोलकाता बन्दरगाहमार्फत हुने नेपालको कार्गो आवागमन छरितो हुने अपेक्षा गरिएको छ ।

आयातकर्ताले आफ्ना प्रतिनिधिमार्फत सामानको बिल,प्याकिङ लिस्ट, उत्पत्तिको प्रमाणपत्र,प्रतीतपत्र, कोलकातास्थित महावाणिज्य दूतावासले दिने प्रमाणपत्रलगायत कागजात बन्दरगाह भन्सारमा पेश गर्दै आएका छन् । यो अनलाइन प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि अब बन्दरगाह भन्सारमा यी काजगपत्र पुर्‍याउनुपर्ने बाध्यता हट्ने कस्टम हाउस एजेन्ट अमृतभक्त श्रेष्ठले बताए ।

‘एजेन्टले आआफ्नो कार्यालयबाटै कागजात अपलोड गर्न मिल्ने गरी यो प्रणाली ल्याइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्