Logo

आजबाट दैनिक पाँचओटा कन्टेनर रसुवागढी नाकाबाट नेपाल आउने



काठमाडौं, असोज ८ । तीन सातादेखि बन्द रहेको रसुवागढी नाका बुधवारबाट सुचारु भएको छ । चिनियाँ पक्षले बिहीवारदेखि नियमित सामान पठाउन थालेपछि नाका सञ्चालनमा आएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जिल्ला प्रशासन कार्यालय रसुवालाई चिनियाँ पक्षले बिहीवारदेखि दैनिक पाँचओटा कन्टेनरमा सामान पठाउने जानकारी दिएको बताए । उनका अनुसार बुधवार मात्र एउटा कन्टेनरमा स्वास्थ्य सामग्री आएको थियो ।

कोरोना महामारीका कारण माघ १५ गतेदेखि ठप्प रहेको नाका जेठ महीनाबाट सञ्चालनमा आएको थियो । तर, श्रमिकमा कोरोना संक्रमण देखिएपछि भदौको दोस्रो हप्ता यो नाका पुनः बन्द भएको थियो ।

जेठयता चीनबाट दैनिक चार कन्टेनर सामान आउने गरेको थियो । सामान आयातमा वृद्धि गर्न नेपाली पक्षले चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएको छ ।

भन्सार कार्यालयका अधिकारीहरूका अनुसार धेरै कन्टेनर भित्र्याउन भन्सार कार्यालयबाट पहल गरेपछि चिनियाँ पक्षले बढाउने आश्वासन दिएको छ । अहिले नाकालाई निर्बाध सञ्चालनमा ल्याउन बाटोमा पहिरो हटाउन विभिन्न ठाउँमा आठओटा डोजर राखिएको छ ।

चिनियाँ प्रतिनिधिले बुधवार रसुवागढी नाकाको अवलोकनसमेत गरेका छन् । ल्हासाबाट आएका उनीहरूले नेपालतर्फ सामान झर्ने ठाउँको अवलोकनले गरेर फर्केको भन्सार कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार चिनियाँ पक्षले दुई सिफ्ट गरेर कन्टेनर पास गर्ने काम अघि बढाउने बताएको छ । ‘मितेरी पुलवारि समान झार्नका लागि स्थानको अवलोकन गर्न चिनियाँ अधिकारीहरू आएका थिए, हेरेर गएका छन्, आशा छ, उनीहरूले समान धेरै पठाउनेछन्,’ उनले भने ।

गतवर्ष सोही नाका हुँदै २७ अर्ब रुपैयाँभन्दा बढीको समान नेपाल भित्रँदा करीब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष नाकामा बारम्बार अवरोध आउँदा १ अर्ब रुपैयाँको मात्रै समान नेपाल भित्रिएको छ भने त्यसबाट ४० करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय रसुवाले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्