सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान


विराटनगर, असोज ८ । एक किशोरीलाई भारतको सिम्राहीसम्म पुर्‍याएको सम्भावित ‘बलि’प्रकरणको अनुसन्धान प्रहरीले गम्भीर रुपमा अघि बढाएको छ। सुनसरी रामधुनी–५ झुम्काकी १७ वर्षीया किशोरीलाई ‘बलि’दिन लगिएको हुनसक्ने धेरै आधार भेटिएपछि गम्भीर रुपमा प्रहरीले आफ्नो अनुसन्धान सम्भावित ‘बलि’ प्रकरणतर्फ सोझ्याएको हो।

नेपाल प्रहरीले घटनाको अनुसन्धानका लागि भारतीय प्रहरीसँग सहयोग मागेको छ। घटनास्थल नेपाल र भारत दुवै देशमा रहेका कारण सहयोगका लागि भारतीय पक्षसँग विशेष अनुरोध गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। बुधबार जोगवनी पुगेका एसपी खड्काले भारत अररिया जिल्लाका एसपी हृदयकान्तसँग भेट गर्दै घटना गम्भीर रहेको जानकारी गराएर अनुसन्धानका लागि विशेष मद्धत गर्न आग्रह गरेका हुन्।

एसपी खड्कासँगको भेटमा हृदयकान्तले गम्भीर खालको घटना रहेको भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाएको स्रोतले बतायो। ‘यति जटिल घटनाको अनुसन्धान गर्दै एउटा निस्कर्षमा पुग्नु पर्छ’, हृदयकान्तलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा पनि अपराधी उम्कन दिन हुँदैन र त्यही हिसाबको सहयोग नेपाल प्रहरीलाई हुनेछ।’ हृदयकान्तले सहरसा अररियासँग सीमा जोडिएको जिल्ला भएकाले नेपाल प्रहरीले भनेअनुसार आवश्यकता परेका बेला जुनसुकै सहयोग गर्ने आश्वासन दिएका छन्।

किशोरीलाई मोरङको लेटाङ —३ की २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर–५ का २८ वर्षीय सुमितकुमार मण्डल र तिलाठीकैलाडी–१ का २० वर्षीय प्रदीपकुमार मण्डल मिलेर आइतबार भारतको सिम्राही पुर्‍याएको खुलेको एसपी खड्काले बताए। उनलाई विराटनगर महानगरपालिका–१७ को इस्लामपुर नाका हुँदै भारत कटाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।