Logo

चीनद्वारा नेपाली भूमि ‘अतिक्रमण’



सुर्खेत, असोज ८ । चीनले हुम्लाको लिमी भ्याली क्षेत्रको नेपाली भूमि अतिक्रमण गरी भवन बनाएको छ । नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ भवन निर्माण गरेको पाइएकोे हो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार नेपालले ११ वर्षअघि खनेको सडकभन्दा दुई किलोमिटरभित्र चीनले भवन निर्माण गरेको हो ।

‘२०६६ सालमा नेपालले ललुङ–लिमी हुँदै सिमीकोट सडक निर्माण गरेको हो । सडक निर्माण भएको क्षेत्रभन्दा दुई किलोमिटरभित्र चीनले ११ वटा घर बनाएको छ,’ स्थलगत अनुगमन गरेर फर्केका गाउँपालिका अध्यक्ष तामाङले भने, ‘उतिबेला सडक खन्दा चीनको सेना धेरै पर थियो । हामीले हाम्रै भूमिमा सडक खनेका थियौं ।’ उनका अनुसार ललुङ क्षेत्र मानसरोवर नजिकै पर्छ । चीनले अतिक्रमण गरेको क्षेत्र लिमी उपत्यकाका बासिन्दाको गाईबस्तु चराउने ठाउँ हो । ‘चीनले तीन वर्षअघि ललुङमा तीनवटा घर निर्माण गरेको थियो । त्यतिबेला घर बनाए पनि कोही नबसेकाले यो विषय बाहिर आएन । अहिले ११ वटा घर निर्माण भएका रहेछन्,’ उनले भने, ‘नेपालीले उपभोग गर्दै आएको स्थानमा चिनियाँले घर बनाएर बस्न थालेपछि अतिक्रमणको विषय बाहिर आएको हो ।’

११ वर्षअघि सडक निर्माण गर्दा चीनले त्यस क्षेत्रमा दाबी गरेको थिएन । अहिले घर निर्माण गरिएको क्षेत्रभन्दा थप तीन किलोमिटर क्षेत्र आफ्नो भएको दाबी चीनले गर्न थालेको अध्यक्ष तामाङले बताए ।

‘नेपालले खनेको सडकभन्दा दुई किलोमिटर क्षेत्रभित्र पर्खालसहित चीनले पक्की घरहरू बनाएको छ,’ उनले भने, ‘सो भूमिमा चीनले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ । हामीले पनि आफ्नो दाबी प्रस्तुत गरेका छौं ।’

चीन–नेपाल सीमाको ११ नम्बर पिलर वर्षौदेखि हराएको छ । अहिले अतिक्रमित क्षेत्र यहीं ठाउँमा पर्छ । अध्यक्ष तामाङले हराएको पिलरको राज्यले खोजी गर्नुपर्ने बताए । ‘नक्सामा पिलर देखिन्छ, तर सम्बन्धित ठाउँमा भेटिँदैन,’ उनले भने, ‘समयमै राज्यले यसतर्फ ध्यान नदिए नेपाली भूमि गुम्न सक्छ ।’

अतिक्रमित क्षेत्र पुगेर फर्केका सिमीकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी भवन बनाएको दाबी गरेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्