Logo

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण



काठमाडौं, ८ असोज । भारतले नेपालमा भुकम्पछिको पूननिर्माणका लागि नेपाल सरकारलाई एक अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेको छ । नेपालस्थित् भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धताअनुरुप १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेकी हुन् ।

भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको दूतावासले जनाएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ । दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्