Logo

लगातारको वर्षाले तरकारी खेती सखाप



महोत्तरी, ८ असोज: लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रदै गरेका सागसब्जीका बिरुवा लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।

अहिले बारीमा भर्खरै रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । घिरौँला, झिँगनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका लहरे तरकारीका बेला पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । भदौ निगल्दोको वर्षा र अहिले लगातार तीन दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ ।

“तरकारीका बेला पानीले गलाएर पहेँलिएका छन्, नयाँ रोपिएका बेर्ना चोटिलो पानीले सोत्तर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतोले भने, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, चाँडै उत्पादन लिने आलु पनि अब रोप्न पाइने आस मर्यो ।”

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजार उपभोक्ता पनि महँगाइको मारमा परेका छन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । पछिल्लो तीन दिनको वर्षाले जिल्लामा सडक स्तरोन्नति र सम्भारका भइरहेका काम पनि रोकिएको छ । बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवास सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् ।

तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् । जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्