Logo

बैंकमा तरलता थुप्रियो



काठमाडौं, असोज ९। बैंक तथा वित्तीय संस्थामा कर्जाको माग नभएपछि निक्षेप मात्रै थुप्रिने स्थिति रहेको छ । बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँको अधिक तरलता भएपछि तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक २८ दिनको निक्षेप संकलन उपकरणको प्रयोग गर्न बाध्य भएको छ ।

बिहीवार बैंकिङ प्रणालीमा असाधारण प्रकृतिको अधिक तरलताको स्थिति देखिएको भन्दै खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार बैंकिङ प्रणालीबाट लामो अवधिका लागि ३० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्न निक्षेप संकलन उपकरण प्रयोग गरेको हो ।

यसअघि आन्तरिक ऋण व्यवस्थापन गर्न छोटो अवधिको एकहप्ते सरकारी ऋणपत्र ट्रेजरी बिलजस्ता उपकरण जारी गर्दै आएको थियो । साथै, मौद्रिक व्यवस्थापनका लागि बजारबाट तरलता प्रशोचन गर्न साउनमा रिभर्स रिपो पनि जारी गरेको थियो ।

राष्ट्र बैंकले अवस्था हेरेर अधिकतम ९० दिनका लागि निक्षेप संकलन उपकरण निष्कासन गर्न सक्छ । यस उपकरणको बोलकबोलमा सफल बोलकर्ताको बैंकमा रहेको खाताबाट रकम झिकी नेपाल राष्ट्र बैंकले निक्षेपका रूपमा राख्छ । यसबाट बैंकिङ प्रणालीमा रहेको अधिक तरलता तोकिएको समयावधिका लागि प्रशोचन हुन्छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्