Logo

वालिङ्ग नगरपालिकाको अवस्था अत्यन्तै भयावह छ : मेयर खाँण



स्याङ्जा वालिङ्ग नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले अविरल मुसलधारे वर्षाका कारण वालिङ नगरपालिकाको अवस्था अत्यन्तै भयावह रहेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नगरप्रमुख खाँणले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘अविरल मुसलधारे वर्षाको कारणले आज लगभग ४० घरमा बस्न नहुने अवस्थामा हुनुहुन्छ । उहाँहरूलाई अन्यत्र सारिएको छ । एउटा घर पुरिँदा त्यसमा रहेका दशजनामध्ये नौजनाको मृत्यु भएको छ । एकजना अस्पतालमा हुनुहुन्छ । अवस्था एकदमै भयानक अवस्थामा नै छ ।’ प्रस्तुत छ मेयर खाँणसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

के छ त्यहाँको अवस्था ? बाढी÷पहिरोले कति क्षति पुगेको छ ?

वालिङ्ग नगरपालिकाको अवस्था अत्यन्तै भयावह छ । अविरल मुसलधारे वर्षाको कारणले आज लगभग ४० घरमा बस्न नहुने अवस्थामा हुनुहुन्छ । उहाँलाई अन्यत्र सारिएको छ । एउटा घर पुरिँदा त्यसमा रहेका दशजनामध्ये नौजनाको मृत्यु भएको छ । एकजना अस्पतालमा हुनुहुन्छ । अवस्था एकदमै भयानक अवस्थामा नै छ ।

त्यो अवस्था कसरी आयो स्याङ्जामा मलाई बताउनुहोस् त ?

यो अवस्थामा आउनुमा एउटा त अविरल वर्षा नै हो । दोस्रो, हामी विकास निर्माणको नाममा जथाभावी कामहरू गरेका छौँ । जसले गर्दा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बीचमा कार्यहरू गर्दा तालमेलहरू मिलेनन् । जसको परिणाम आज हामीले भोगेका छौँ ।
तपाईँहरू कसरी त्यहाँ काम गर्दै हुनुहुन्छ ? उद्धार कसरी भईरहेको छ ? राहतको वितरण भएको छ कि छैन ? जनताको अवस्था के छ ?
राहतको वितरण त भएको छ तर हामी स्थानीय तहसँग बजेट पनि कम छ । बजेट अत्यन्त न्युन छ तर पनि हामी यसलाई विकास बरु पछि गरौँला, हरेक नागरिकको जीवन सुरक्षित गर्नु पहिलो आवश्यकता हो भनेरमा हामी लागेका छौँ । १४ ओटै वार्डहरूमा जनप्रतिनिधिहरू, राजनीतिक दलका साथीहरू र अन्य सबै स्वतस्फूर्त रूपमा परिचालन हुनुभएको छ । त्यस्तै गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पनि संयुक्त रूपमा कार्यहरू भएको छ । उहाँहरूबाट धेरै ठुलो सहयोगहरू हामीले प्राप्त गरेका छौँ ।

त्यसो भए घरमाथि खनिएको ग्रामीण सडकको कारण त्यहाँ चर्केको हो, डाँडा ?

हजुर, हो ।

गतवर्ष पनि त्यही ठाउँमा पहिरो खसेको थियो नि होइन ?

पटक–पटक खसिराखेको छ ।

त्यसो भए अब तपाईँहरूको योजना के छ ? मलाई बताउनुहोस् ।

हाम्रो योजना त सडक विभागले हामीसँग, यो स्थानीय सरकारसँग तालमेल गरोस् । त्यहाँ खास गरेर वातावरणीय सुरक्षाहरू होस् । बस्तीहरूको सुरक्षा होस् । सँगसँगै मिलेर काम गरौँ । उहाँहरूको बजेट कति छ ? नपुगे हामी नगरपालिकाले पनि केही मिसाउने कि ? ती कुराहरूको बारेमा सँगसँगै काम हुँदै जाओस् भनियो यो पाँच वर्ष अगाडिदेखि सडक विभागले काम गरेको छ र वालिङ्ग नगरपालिकालाई कुनै सूचना पनि छैन । के कति बजेट छ ? अहिले पनि टेन्डर भएको भन्ने सुनेको छु । के मा टेन्डर भएको त्यो पनि थाहा छैन । त्यसो हुनाले यस्ता कुराहरू प्रदेश र केन्द्र सरकारले, स्थानीय सरकारले जुन विकास निर्माणका कामहरू छन्, यो एकआपसमा मिलेर गर्नुपर्छ भन्ने हामीलाई द¥हो पाठ सिकाएको छ । यसले झापड पनि हानेको छ । वास्तवमा यस्ता कुराहरूमा हामीले स्वीकार पनि गर्नुपर्छ । हाम्रा गल्तीहरू, कमी कमजोरीहरू स्वीकार गर्ने र त्यसलाई समाधानतर्फ लाग्नुपर्छ भन्ने मेरो अनुरोध छ । त्यसो हुनाले हामीले गरेका गल्तीहरूले भोलि बास उठ्न नपरोस् । हाम्रो नगरपालिका, नगरपालिका मात्र नभएर देशमै यस्ता परिस्थितिहरू सिर्जना भएका छन् जसले गर्दाखेरि कुरूप बनाउँदैछ, मान्छेको घाटाको कारण बन्दैछ विकास । त्यसो भएको हुनाले यो कुरामा एकदम समझको रूपमा सडकहरू खन्दा प्राविधिक, वातावरणविदहरूको राय लिएर सडकहरू खन्नुपर्ने अवस्था देखाएको छ । अहिले मनपरी तरिकाले जुन खनिएका छन्, यिनीहरूलाई अब बन्द गर्नुपर्छ भन्ने हामीलाई पाठ सिकाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्