Logo

केरुङ र तातोपानी नाका बन्द गरेर चीनले असली अनुहार प्रदर्शन गरेको छ : नेपाल रिपब्लिक पार्टी



काठमाडौं, ९ असोज । नेपाल रिपब्लिक पार्टीले दशैंको मुखमा केरुङ र तातोपानी नाका बन्द गरेर कम्युनिष्ट चीनले नेपाल र नेपाली जनताविरुद्ध आफ्नो असली अनुहार प्रदर्शन गरेको आरोप लगाएका छन् । उक्त पार्टीले आज एक विज्ञप्ती जारी गरेर यस्तो टिप्पणी गरेको हो ।

विज्ञप्तीमा भनिएको छ,‘नेपाल–तिव्वत सीमानाका उक्त प्रमुख नाकाहरु चीनले दुई सातादेखि बन्द गरेको छ जसका कारण नेपालले पैसा तिरेर मगाएका डेढ सय कन्टेनर सामान मात्र अलपत्र परेका छैनन्, केटाकेटीलाई खोप लगाउन प्रयोग हुने ११ लाख सिरिन्जका साथै कोरोना रोकथामका लागि प्रयोग हुने करोडौं मूल्यका सामग्री समेत सीमामा रोकिएका छन् । कोरोना भाइरस उत्पादन गरी विश्वभर संक्रमण गराउने मानवता विरोधी कम्युनिष्ट चीनले उक्त नाकाहरु बन्द गरी नेपाल र नेपाली विरुद्ध अपराध गरेको छ भने त्यस अपराधको मौन समर्थन गरेर चीनको पोष्यपुत्र नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले त्योभन्दा ठुृलो अपराध गरेको छ। नेपाल रिपब्लिक पार्टीले नेकपा खड्ग प्रसाद ओली सरकारको नेपाली जनताविरुद्धको यस अपराधप्रति तीव्र आक्रोश एवं घृणा व्यक्त गर्दै दुवै सरकारको निन्दा गर्दछ ।’

विज्ञप्तीमा थप भनिएको छ,‘उत्तरी सीमाक्षेत्रमा विभिन्न जिल्लामा हजारौ विघा जमीन अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेर कम्युनिष्ट चीनले नेपाललाई कोपर्दै र लुछ्दै जाने कुत्सित विस्तारवादी अनुहार देखाईरहेको बेलामा नाकाबन्दी गर्ने यस कृत्यले नेपाल विरोधी उसको अनुहार पनि उदांग भएको छ। चीनका सम्पूर्ण अपराध र नेपाल विरोधी कुकृत्य प्रति मौन समर्थन मात्र नगरी त्यसको ढाकछोप गर्न समेत निर्लज्तापूर्वक लागिरहेको वर्तमान नेकपा ओली सरकारले कम्युनिष्टहरुको कुरुप, जनविरोधी एवं राष्ट्रघाती असली अनुहार प्रदर्शन गरेको छ। नेपाल रिपब्लिक पार्टी चीन र नेपाल दुवै देशका कम्युनिष्ट सरकारलाई नेपाल र नेपाली प्रतिको यो दुश्मनीपूर्ण षड्यन्त्र तत्काल बन्द गर्न चेतावनी दिन चाहन्छ साथै यसप्रति प्रजातन्त्र प्रेमी सम्पूर्ण विश्वको ध्यान आकर्षित गराउन चाहन्छ।’

उक्त पार्टीले चीन र नेपाल दुवै देशका कम्युनिष्ट सरकारलाई नेपाल र नेपाली प्रतिको यो दुश्मनीपूर्ण षड्यन्त्र तत्काल बन्द गर्न चेतावनी पनि दिएको छ । पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमको नाममा जारी विज्ञप्तीमा थप भनिएको छ,‘नेपाल र चीनका कम्युनिष्ट सरकारहरुको यो कार्यगत एकताको जति भर्तसना निन्दा गरेपनि कम हुनेछ।’



प्रतिक्रिया दिनुहोस्