Logo

इन्टरनेट समस्याले टोलटोलमै पुगेर विद्यार्थी पढाउँदै पर्वतका विद्यालय



पर्वत, ९ असोज: पर्वतको कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयले टोलटोलमा शिक्षक पठाएर विद्यार्थीलाई पढाइरहेको छ । विद्यालयले विद्यार्थीलाई तीन वटा क्लष्टरमा विभाजन गरेर शिक्षकलाई टोलटोलमै पठाएको छ । पञ्चकोशी माध्यमिक विद्यालय मात्रै होइन कुस्मा नगरपालिका –१२ को जनता सुदर्शन माध्यमिक विद्यालयले पनि टोलमै पुगेर पढाएको छ ।

इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्चालन गर्न नसकेपछि पर्वतका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले टोल शिक्षा पढाउन थालेका छन । विद्यालयले पठाएपछि अहिले शिक्षक विद्यार्थीलाई पढाउन टोलटोलमा पुग्न थालेका छन् । “इन्टरनेटको पहुँच सबै विद्यार्थीका बीचमा नहुने भएकाले टोलटोलमै पुगेर पढाउन थालेका छौँ”, पञ्चकोशी माविका प्रधानाध्यापक प्रकाश सापकोटाले भने, “विद्यार्थीलाई शैक्षिक क्षति हुन नदिन हाम्रो ठाउँमा यो नै सबैभन्दा उत्तम विकल्प देखियो ।” विद्यालयले यसअघि टोलमा पुगेर गृहकार्य दिने र १० दिनपछि पुगेर गृहकार्य परीक्षण गरी थप गृहकार्य दिँदै आएको थियो । कक्षाकोठामा सामाजिक दूरी कायम गरेर पढाउन विद्यार्थी सङ्ख्या धेरै भएकाले कठिन छ । दशैँसम्म टोलटोलमै पुगेर यही विधिका आधारमा पठनपाठन गराउने योजना रहेको प्रअ सापकोटाले बताए ।

सरकारले वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाइ क्रियाकलापमा संलग्न गराउने भनेको छ । निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाइमा सहजीकरण गर्न निर्देशन दिइएको छ तर पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन् । धेरै विद्यार्थी सिकाइ क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोलटोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रमअनुसारकै क्रियाकलाप जारी राखेको बताएका छन् ।

सदरमुकाम कुश्मा नगरपालिकाभित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ । विद्यार्थीलाई नजिकका विद्यालय, खाली घर, समाजघर वा घाम लाग्दा चौरमा पनि पढाउन थालिएको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमालले बताए । जिल्लामा सङ्क्रमित थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै सङ्क्रममण आउने हो कि भन्ने चिन्तामा रहे पनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाइ प्रभावकारी बनेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटाबाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताए । “हाम्रोमा नेट उपलब्ध छैन । पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेको बताए ।

कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा सङ्क्रमित नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघङ्न हुने बताए।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्