Logo

डा. केसीको पक्षमा मानवअधिकार आयोगदेखि नेविसंघसम्म, सरकारलाई चौतर्फी दबाब



असोज ९, काठमाण्डौ । राष्ट्रिय मानवअधिकार आयोगले चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार आयोगले विज्ञप्ति निकालेर चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको हो । डा. केसीसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन स्थिति सार्वजनिक गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

आायेगले वार्ता र संवादको माध्यमबाट समाधान गर्न सुझाब दिदै केसीलाई आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ । केसीको अवस्थाबारे कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वागमतीले अनसनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको, पटक–पटकको अनसनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकोले संक्रमणको उच्च जोखिम रहेको अनुगमनको क्रममा पाइएको आयोगले जनाएको छ । केसीको जीवन रक्षाको लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै नेपाल चिकित्सक संघलगायत विभिन्न संघ संस्थाहरुले आयोगमा ज्ञापन पत्र पेश गरेको पनि आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै डा. गोविन्द केसी भदौ २९ गते जुम्लामा आमरण अनशन सुरु गरेका थिए । हाल उनी त्रिवि शिक्षण अस्पतालमा छन् ।

माइतिघरमा प्रदर्शन
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका केसीको पक्षमा शुक्रबार पनि काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ । ‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले केसीको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले माइतिघरको मुख्य क्षेत्रमा प्रवेश लागि भने रोक लगाएको थियो । उनीहरुले अदालतले समेत विरोधमा रोक नलगाएको अवस्थामा काठमाडौं सिडिओको मौखिक निर्देशनमा माइतिघरको मुख्य क्षेत्रमा प्रवेशमा रोक लगाएको भन्दै आपत्ती जनाएका थिए ।
प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीको माग पुरा गर्दै उनको जिवनरक्षाको माग गरेका थिए ।

डा. केसीले अघि सारेको कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।

विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको थियो । अनसनकै क्रममा केसी काठमाडौं आएका थिए भने हाल शिक्षण अस्पतालमा सत्याग्रहमा छन् ।

नेविसंघको दबाब


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अनसनरत केसीका मागमा ऐक्यवद्धता जनाउदै तत्काल जायज माग पुरा गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीसहित प्रतिनिधिमण्डलले अनसनरत डाक्टर केसीलाई त्रिवि शिक्षण अस्पताल पुगेर भेट्दै केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।

डाक्टर केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए । सरकारले डाक्टर केसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १९ औं पटक अनसन बस्नुभएका डा केसीको १२ औ दिनसम्म पुग्दा स्वास्थ्य कमजोर हुँदै चिकित्सकहरुले जनाएका छन् ।

केसीको आग्रह
यसैबीच केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले विगतमा भएका सम्झौता कार्यान्वयन गरिदिन आग्रह गरेका छन् । माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्