Logo

कोरोनाको औषधि अभाव छैन : औषधि व्यवस्था विभाग



असोज ९, काठमाण्डौ । औषधि व्यवस्था विभागले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उपचारमा प्रयोग हुने कुनै पनि औषधिको अभाव नरहेको बताएका हुन् ।

सबै अस्पतालमा ती औषधिहरु रहेको भन्दै उनले उपचारमा प्रयोग हुने औषधिको गुणस्तरमा पनि ढुक्क हुन आग्रह पनि गरे । कोरोनाका गम्भीर बिरामीलाई चिकित्सकको निगरानीमा र बिरामीको इच्छा बमोजिम मात्र रेम्डेसिभिर दिने गरिएको उनले बताए ।

रेम्डेसिभिर सरकारले तोकेका अस्पतालमा निशुल्क पाइने जानकारी दिदै उनले रेम्डेसिभिरको प्रयोगले कोरोनाका जटिल बिरामीमा थप केही समस्या देखिएमा विभागमा जानकारी गर्न आग्रह गरे ।

महानिर्देशक ढकालले क्लिनिकल ट्रायलको रुपमा रहेको प्रमाणित भइनसकेको औषधिलाई औषधि व्यवस्था विभागले अनुमति नदिएको र बजारमा पनि नपाइएको भन्ने गुनासो गर्नु उचित नभएको जिकिर गरेका थिए ।

रेम्डेसिभिर औषधीको कालो बजारी भयो विरामीले पाएन्न भन्ने जस्ता गुनासो सम्बन्धमा पनि विभागले स्पष्टीकरण दिएको छ । विभागले कोभिडको औषधी चिकित्सकिय निगरानिमा विरामकीको इच्छा बमोजिम सरकारबाट स्वीकृत प्राप्त अस्पतालमा र नेपालल स्वास्थ्य अनुसन्धान परिषदको अनुसन्धान अन्तर्गत रहेर निशुल्क प्रदान गरिने जनाएको छ । उक्त औषधि क्लीनिकल ट्रायलको रुपमा प्रचलनमा ल्याइएको विभागले जनाएको छ ।

उक्त औषधि विभागले अहिले अनुसन्धानात्क रुपमा मात्र अनुमति दिएको पनि स्पष्ट परेको छ ।



प्रतिक्रिया दिनुहोस्