Logo

वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा



दमौली, १० असोज: तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बसेका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोखरेलले खुशी हुँदै भने, “बत्ती आएपछि त घर नै उज्यालो भएको छ ।”

तनहुँको घिरिङ गाउँपालिकाले उक्त ठाउँमा १०० घरधूरीमा बिजुली विस्तार गरेपछि यहाँका स्थानीयवासी हर्षित छन् । स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णुभक्त सिग्देलले वर्षौंदेखि बत्तीको आशमा बसेका यहाँका स्थानीयवासी विद्युत विस्तारपछि खुशी भएको जानकारी दिए । “सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानले तीव्रता पाउँदैछ, बिजुली विस्तार पनि त्यसकै एउटा पक्ष हो,” उनले भने, “जनप्रतिनिधि निर्वाचित भएर आएपछि गाउँगाउँमा बिजुली विस्तारले तीव्रता पाएको छ ।”

अत्रौलीमा १४० घर रहेपनि १०० घरमा बिजुली बलेको र बाँकी घरमा पनि केही दिनभित्रै बत्ती बल्ने घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । “बत्ती बल्न बाँकी रहेका घरहरुमा मिटर जडानको काम भइरहेको छ, केही दिनमै बाँकी घरमा पनि बत्ती बल्छ,” उनले भने । उनका अनुसार एक हप्ताको अवधिमा २०० घरमा बिजुली विस्तार भइसकेको छ । यस अगाडि घिरिङ गाउँपालिका–२ काठेकोटका ४२ र माहोरकोटको ५९ घरमा बिजुली विस्तार गरिएको थियो ।

थापाले साविक गजरकोट गाउँ विकास समितिको नेवार हटिया, कटहरे, हात्तीडाँडा, भन्टार, गड्यौली, नयाँटार, जगौलीलगायतका ठाउँमा पनि बत्ती बाल्ने तयारी भइरहेको जानकारी दिए । गाउँपालिकामा अब आठ-नौ सय घरमा मात्रै बत्ती बल्न बाँकी रहेको र कात्तिकसम्ममा सबै घर उज्यालो बनाइने थापाले जानकारी दिए । गाउँपालिकाले यहाँका ग्रामीण वस्तीमा धमाधम विद्युत् विस्तार कार्यलाई तीव्रता दिइरहेको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । रानाले ‘उज्यालो घिरिङ’ अभियान सम्पन्न हुने क्रममा रहेको बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्