Logo

‘यो सरकार माफिया, भ्रष्टाचारी र बलात्कारीले चलाएको सरकार हो’ : राजीव ढुङ्गाना



मुकुन्द कालिकोटे : काठमाडौं, १० असोज । नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले वर्तमान सरकार माफिया, भ्रष्टाचारी र बलात्कारीले चलाएको गम्भीर आरोप लगाएका छन् । आज माईतीघर मण्डलामा बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या भएको भन्दै संयुक्त दलित युवा संघर्ष समितिले आयोजना गरेको विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै यस्तो टिप्पणी गरेका हुन् ।

ढुङ्गानाले केपी ओलीको सरकार माफिया, भ्रष्टाचारी र बलात्कारीले चलाएको सरकार भएको आरोप लगाए । ढुङ्गानाले भने,‘यो अहिलेको सरकार भ्रष्टाचार, कमिशनखोरहरु र बलात्कारीहरुलाई जोगाउन, संरक्षण गर्ने काममा सरकार छ कि भन्ने देखिन्छ तर जनताको शान्ति सुरक्षामा रत्तिभर देखिएको छैन, सरकार कसरी टिकाईराख्ने भन्नेमा केन्द्रीत छ ।’

ढुङ्गानाले यो सरकार जनताको अभिमतले बनेको सरकार हो तर सारमा हेर्दा सरकारको काम जनताको संरक्षण, न्याय भन्दा बारम्बार माफिया, भ्रष्टाचारी र बलात्कारीको संरक्षण गर्दै बचाउनमात्र एकत्रित भएको आरोप लगाउँदै उनीहरुबाट सञ्चालित सरकारले निर्मला र सम्झना विक जस्ताले न्याय पाउन मुस्किल छ त्यसैले यो अवस्था आएको हो, नेपाल विद्यार्थी संघ जनताप्रति उदासिन सरकारको विरुद्धमा लागिरहन्छ ।

विरोध प्रदर्शनमा संयुक्त दलित संघर्ष समितिका संयोजक राजीव ऐन, नेपाली काँग्रेस बझाङ्गका उपसभापति ज्ञानबहादुर बोहोरा र नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय सदस्य लोकेन्द्रबहादुर रोकायाले पनि संबोधन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्