Logo

आज विश्व पर्यटन दिवसः पर्यटन पुनरुत्थानका लागि टास्क फोर्स गठन



काठमाडौं, असोज ११ । आज आइतवार ‘पर्यटन र ग्रामीण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ । कोरोना महामारीका कारण विश्वभरि नै सीमित खालका कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

आर्थिक विकासमा उल्लेख्य भूमिका र योगदान रहेको पर्यटन क्षेत्रले नेपालमा पनि सामान्य कार्यक्रम आयोजना गरि मनाउँदै छ । विश्व पर्यटन परिषद्को सन् २०१९ को तथ्यांकअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ भने करीब ११ लाख रोजगारी सृजना गरेको सरकारको दाबी छ ।

नेपालमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सरकार तथा निजीक्षेत्रको साझेदारीमा पर्यटनलाई चलायमान बनाउने अभिप्रायले टास्क फोर्स गठन गरी शनिवार पर्यटन पुनरुत्थान अभियान आरम्भ गरिएको छ । कोभिड–१९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममुखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान कार्यदल नेपालको औपचारिक आरम्भ गरिएको छ ।

सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’ कार्यान्वयनका लागि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको समन्वय तथा सहकार्यमा अभियान शुरू गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनरुत्थान कार्यदलले आन्तरिक पर्यटनलाई चलायमान बनाउने पर्यटकीय गतिविधि सार्वजनिक गरेको हो ।

‘पर्यटनका लागि हाम्रो देश, घुमौं देश, चिनौं परिवेश’ भन्ने मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री समेत सार्वजनिक गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्