Logo

कोरोना परीक्षणमा बढि शुल्क लिने अस्पतालहरूलाई कारबाही गर्छौं : डा. पाण्डे



ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले लक्षण देखिएकालाई मात्रै पिसिआर परीक्षण गर्ने भनेर नभनिएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन्, होइन त्यस्तो भनिएको छैन । हामीलाई त्यस्तो खालको कुनै निर्देशन दिईएको छैन । हामीले अहिलेसम्म सक्रिय केशहरू छन्, उहाँहरूलाई हामीले टेस्ट गर्छौँ । जसको लक्षण छ, उहाँहरूको हामीले टेस्ट गरिरहेका छौँ । इन्टरनेशनल एयरपोर्टमा होल्डिङ्ग सेन्टर राखिएको छ, उहाँहरूको हामीले टेस्ट गरिरहेका छौँ । बोर्डरबाट आउनेहरूको हामीले टेस्ट गरिरहेका छौँ । त्यसरी टेस्ट नगर्ने भनेर भनिएको मलाई थाहा छैन । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंशः

अब पि.सि.आर टेस्टको कुरा गर्दाखेरि सरकारले नगर्ने निर्णय गरेको छ, ठ्याक्कै अब ?

त्यो निर्णय गरेको या नगरेको कुरामा सम्बन्धित निकायसँग कुरा गर्नुपर्छ । त्यहाँबाट प्रस्ट थाहा हुन्छ ।

होइन लक्षण देखिएकामा मात्र परीक्षण हुने अब । अन्यलाई नगर्ने भनिएको होईन र ?

होइन त्यस्तो भनिएको छैन । हामीलाई त्यस्तो खालको कुनै निर्देशन दिईएको छैन । हामीले अहिलेसम्म सक्रिय केशहरू छन्, उहाँहरूलाई हामीले टेस्ट गर्छौँ । जसको लक्षण छ, उहाँहरूको हामीले टेस्ट गरिरहेका छौँ । इन्टरनेशनल एयरपोर्टमा होल्डिङ्ग सेन्टर राखिएको छ, उहाँहरूको हामीले टेस्ट गरिरहेका छौँ । बोर्डरबाट आउनेहरूको हामीले टेस्ट गरिरहेका छौँ । त्यसरी टेस्ट नगर्ने भनेर भनिएको मलाई थाहा छैन ।

होइन लक्षण नदेखिए नगर्ने । सरकारले भनिसक्यो नि, अहिलेको अवस्थामा किन गरिरहने परीक्षण ?

अब पहिलो कुरा त के छ भने कोरोनाको परीक्षणको कुरा अलिकति प्रस्ट पार्ने कुरा हुन्छ । यो अरू कुनै खालको टेस्ट होइन । यो त्यस्तो खालको टेस्ट होइन कि आज टेस्ट गरेर नेगेटिभ आयो भनेदेखि सधैँभरिको लागि नेगेटिभ हुन्छ भन्ने होइन । व्यवहारमा सुधार गरियो भने मात्र नेगेटिभ आउँछ भन्ने कुरा होइन । यो त फेरि पनि कुनै अर्कोसँग सम्पर्क हुँदा वा अरू तरिकाले रोग संक्रमण हुने हुनाले त्यो दिनमा नेगेटिभ आएर सधैँभरि नेगेटिभ भन्न सकिदैँन । पि.सि.आरको सेन्सिटिभिटी पनि म्याक्सिमम भयो भने अधिकतम ७० प्रतिशत हो, त्योभन्दा बढि ३० प्रतिशत त अझ हामीले डिटेक्ट नै गर्न सकिदैँन । पोजिटिभ हुँदाहुँदै पनि नेगेटिभ दिने अवस्था हुन्छ । त्यसो भएर हामीले पहिलो कुरा थाहा पाउनुपर्ने के हो भने यो कोरोना एक खालको समुदायमा गईसक्यो । त्यसो भएर कसैलाई पनि हुनसक्छ । हामी त्यहीअनुसार स्वास्थ्य मन्त्रालयले दिएको मापदण्ड अनुसार बस्नुपर्छ । लक्षण छ भने त्यहीअनुसारको हामीले गर्नुपर्छ । घरमा बस्दा पनि यदि कोरोनाको शंका हो भने छुट्टै बस्नुपर्छ ।

हाम्रो देशमा कोरोना जाँच्न झरीमा लाईन बस्नुपर्छ । रातभरि सडकमा सुतिरहेका सर्वसाधारण जनता, तर सिभिल अस्पतालमा राखिएको दुई करोडको पि.सि.आर उपकरणको अवस्था तपाईँलाई म बताऊँ ? परीक्षण गर्ने मेशिन कार्टुनभित्र बन्द गरेर राखिएको छ ।

अब यो यस्तो छ, कतिपय कुराहरू हामीले बुझाउन नसकेको हो कि ? म त टेकुमा नै स्वास्थ्य सेवा विभागमा नै बस्छु । हाम्रो पारीतिर टेकु हस्पितलमा नै काम गरेर आएको हो । अहिले टेकु हस्पिटलमा काम गर्ने शिलशिलामा लाईनमा बस्नेहरूमा ६० देखि ७० प्रतिशत भारतको सितामढीका ठाउँहरूबाट आएका व्यक्तिहरू हुनुहुन्छ । अहिले समस्या के भयो भने घरमा बस्ने घरभेटीहरूले यो तपाईँहरू टेस्ट गरेर आईदिनुहोस् भन्ने उहाँहरूको भनाईँ हो । त्यो पनि एक खालको त जायज नै हो । भारतमा हिजो ८८ हजार व्यक्तिलाई संक्रमण भयो । हाम्रोमा पनि टेस्ट गरेर हेर्दा १२ देखि १३ प्रतिशतलाई इन्फेक्सिभिटि रेट देखिन्छ । त्यसकारण संक्रमण हुनसक्ने अवस्था हो । हाम्रो गाईडलाइनले के भन्ने हो भने १४ दिनसम्म आईसोलेसनमा बसिदिनुहोस् । त्यो बीचमा समस्या भयो भनेदेखि भन्ने कुरा हो । घरभेटीले पठाईदिएर यसरी लाईनमा आएर सुत्नुपरेको अवस्था हो । त्यो हाम्रो ‘रिच–कम्युनिकेशन’ नपुगेको हो कि ?

दिनभरि थाकेका जनता राति पनि लाईनमा बस्दाखेरि के अवस्था होला ? अब लाईनमा बसिरहने, कोरोना परीक्षणको लागि ?

जहाँ मेशिन छन्, काम भएको छैन । यसको लागि मन्त्रालयले एउटा टिम नै बनाएर जस्तो हिजो मलाई थाहा भएको, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले काम गरेको छ । यसको बारेमा उहाँहरूलाई नै थाहा हुन्छ ।

निजी अस्पतालले अहिलेसम्म पनि कोरोना परीक्षण शुल्क घटाएनन् नि ? १३ दिनमा नै उठाए, साँढे तीन करोड भन्ने कुरा आएको छ, कुन–कुन अस्पतालले उठाए, म नाम भनौँ ?

मलाई सबै थाहा छ । बढि शुल्क लिएको सम्बन्धमा हामीले गहन छलफल गरिरहेका छौँ । त्यसमा अनुसन्धान हुन्छ । जनरली कुरा गर्दा विभिन्न अस्पतालहरूमा बढि शुल्क लियो भन्ने कुराको सूचना स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको छ । पुरस्कृत गर्ने र कारबाही निकाय छुट्टै छ । त्यो मेरो दायराभित्र परेन । पि.सि.आर टेस्ट गर्दा दुई खालको स्टेप हुन्छ । एउटा पहिला स्वाबहरू लिएर घाँटीबाट खकार लिन्छौँ, त्यसको एक्स्ट्रासन गर्ने, दोस्रो पि.सि.आर मेशिनमा राखेर रन गर्ने, त्यसको हामीले वेभहरू हेर्छौँ, कति छ भनेर । त्यसको कति प्रतिशत भयो भने पोजिटिभ, नेगेटिभ भन्ने हुन्छ । तर कुरा के हुनसक्छ भने कुरा अलिकति फरक पर्नुको कारण कुन खालको रिएजेन्ट हो, त्यो हामीले सूक्ष्म रूपले हेनुपर्छ । यो सबैलाई विचार गरेर जनस्वास्थ्यलाई ध्यानमा राख्नुपर्छ । त्यसको लागि अनुसन्धानमा टिम गएको हो । शुक्रबार एउटा टिम गएको छ । कसैले त्यस्तो गरेको छ भने पक्कै पनि कारबाही हुन्छ ।



प्रतिक्रिया दिनुहोस्