Logo

‘बलात्कारका घट्नामा दोषीलाई कारबाही गर्ने सवालमा हामी म्याक्सिमम सफल भएका छौं’ : प्रहरी प्रवक्ता कडायत



नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बलात्कारका घट्नामा दोषीलाई कारबाही गर्ने सवालमा प्रहरी संगठन अधिकतम सफल भएको दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता कडायतले भनेका छन,‘हामी म्याक्सिमम सफल भएका छौँ । तपाईँले यदि ख्याल गर्नुभयो भने एकाध घटनाबाहेक हामीले जति पनि भेट्छौँ, चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडि बढाएको अवस्था हो ।’ प्रस्तुत छ प्रहरी प्रवक्ता कडायतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

पछिल्लो समय बलात्कारको घटना किन बढिरहेको छ ? के कारणले ? तपाईँहरूले समीक्षा गर्नुभएको छ ?

ठ्याक्कै रिसर्च भन्ने त रिसर्च नै गर्नुपर्ने होला । पछिल्लोपटक अलिकति बढेको कारण अनुुशन्धानको क्रममा तीनओटा कारणहरू हुनसक्छन् ।

के–के हुनसक्छन् ? बुँदागत रूपमा बताउनुहोस त ?

अहिले एउटा बीचमा लकडाउनको कारणले आर्थिक अभाव भएको कारण हो । त्यसपछि मान्छेको मुभमेन्ट भएन । घरमा मान्छे क्लोज बसिसकेपछि घरेलु हिंसा बढ्दै गयो । त्यसले गर्दा घटना अलि बढी भएको हो कि भन्ने हाम्रो आशंका हो । त्यो रिसर्चको विषय भएको भएर ठ्याक्कै भन्नसक्ने स्थिति अहिले भएन ।

साउन र भदौको मात्र कुरा गर्दाखेरि बलात्कारका ४२० घटना भए, तर दोषीलाई कारबाही गर्नको लागि तपाईँहरू कति सफल हुनुभएको छ ?

हामी म्याक्सिमम सफल भएका छौँ । तपाईँले यदि ख्याल गर्नुभयो भने एकाध घटनाबाहेक हामीले जति पनि भेट्छौँ, चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर अनुसन्धानलाई अगाडि बढाएको अवस्था हो ।

अनुसन्धानको कुरा गर्दाखेरि राजनीतिक दबाब त आउँछ नि त हाम्रो देशमा त । बलात्कारीलाई बचाउनेहरू त छन् नि । के भन्नुहुन्छ ?
राजनीतिक दबाबभन्दा पनि सल्लाह–सुझावको रूपमा लिन सकियो भने हामी अनुसन्धानबाट मोडिनु हुँदैन । प्रहरी आफ्नो काम कर्तव्यबाट विमुख भएन भने कसले के भन्छ भनेर सुझावको रूपमा लिएर आफ्नो असल नियत लिईयो भने त्यसले फरक पर्दैन ।

सम्झना कामीको जसरी बलात्कारपछि हत्या भयो, आज सबैको मन रोएको छ । सम्झनालाई न्याय माग्दै यतिखेर बझाङदेखि संघीय राजधानी काठमाडौंसम्म विरोध प्रदर्शन भएका छन् । त्यतातिर तपाईँको ध्यान केन्द्रित भएको छ ?

बझाङमा एकजना मान्छे लिएर अनुसन्धान भईरहेको छ ।

अनुसन्धान भईरहेको छ, तर दोषीहरूलाई कडा कारबाही हुनुपर्छ भनेर जनताले सडकमा भन्न थाले अब ?

कानुन यति हुनुपर्छ, कानुन कडा बन्नुपर्छ भन्ने एउटा पाटो होला । भोलि राज्यले आवश्यकता ठान्यो भने र अहिले विद्यमान कानुनबाट कारबाही अगाडि त बढिनै राखेको छ नि ।

तर जनताले भन्न थालिसके, चेलीहरू कति दिन असुरक्षित हुने हो हाम्रो देशमा ? अब कसरी सुरक्षित राख्ने त ? मलाई बताउनुहोस् त ?

कसरी सुरक्षित राख्ने भन्ने सवालमा त यसरी राख्ने भनेर एक/दुई वा तीनमा भन्न कठिन छ । तर अब सबैले यस्ता कुराहरूमा सजग हुन जरुरी छ । अधिकांश त यी बलात्कारका केशहरू नातागोताबाट बढि भएको छ । त्यसको अर्थ त के हो भने विथिन द फेमिलीभित्र हामी बढि सजग, सुरक्षित हुनुपर्छ । बढि जनचेतना जागृत गर्नुपर्छ । त्यो मामलामा हाम्रा छोरी–चेलीलाई बढि सजग गराउनुपर्छ कि यो यो केशमा तिमीहरू बच, सुरक्षित बन अथवा यो बेलामा तिमीहरू ख्याल गर भनेर हरेक कुराहरूमा अगाडि त सम्झाउनुपर्छ नि त ।

पछिल्लो समय लकडाउनदेखि निषेधाज्ञासम्म आईपुग्दाखेरि बलात्कार, आत्महत्याको घटना बढ्यो, त्यो तपाईँ मान्न तयार हुनुहुन्छ ? तथ्यांकले त त्यही भन्छ नि ?

छ, छ । आत्महत्याको घटना पनि बढेको छ । अर्को सवारीसाधन दुर्घट्नाको घट्ना पनि बढेको छ । तुलनात्मक रूपमा सवारी दुर्घटना यति नहुनुपर्ने भन्छौँ, हामी । त्यो बढेको छ ।

त्यसो भए अब नेपाल प्रहरीको नयाँ रणनीति के छ त ?

नयाँ रणनीतिभन्दा पनि तपाईँलाई थाहा छ–नेपाल प्रहरी एउटा निश्चित् जिम्मेवारी बोकेको संगठन हो । त्यसलाई कानुनले निर्दिष्ट गरेको हुन्छ, यो–यो गर्नू भनेर । यसको भूमिका निश्चित् छ । भूमिका निर्वाह गर्ने सवाल नै यदाकदा जस्तो अहिले महामारी आयो । बाढीपहिरो आयो । त्यो अरू कामहरू कहिलेकाँही पर्ने त्योबाहेक अरू निर्दिष्ट जिम्मेवारीहरू हुन्छन् । रणनीतिभन्दा पनि यो भयो, अब यसबाट लेशन लर्न गरेर भविष्यमा हुन नदिन के गर्नुपर्छ भनेर सोच्न जरुरी हुन्छ ।



प्रतिक्रिया दिनुहोस्