Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ११ असोज । अवैध लागूऔषध सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५ सय ग्राम अबैध लागूऔषध अफिम, अफिम तौल गर्ने १ थान डिजिटल तराजु, ४ थान मोबाइल सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रुकुम (पूर्व) पुथा उत्तरगंगा घर भएका गज पुन, सोही ठाउँका चक्कर बहादुर पुन र गोरखा घर भएका रवि गुरुङ रहेका छन् ।

बिभिन्न जिल्लाबाट लागूऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा झोलामा स–साना पोका बनाई राखेको अवस्थामा उक्त अफिम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी पोखरा महानगरपालिका गौडाकोमुखस्थित बाटोबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित पोखराका दिपेश गुरुङलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

अर्जुनचौपारी छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका तुल बहादुर क्षेत्री र कृष्ण बहादुर गुरुङ रहेका छन् । उक्त स्थानमा गाँजा बिक्री बितरण भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब ३ किलो र कृष्णको घरबाट १ सय २४ ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्