Logo

प्रदेशस्तरीय आवासीय विद्यालय निर्माण



भीमेश्वर, ११ असोज: वाग्मती प्रदेशले सरकारीस्तरकै पहिलो आवासीय विद्यालय निर्माण गर्ने भएको छ । पहिलो चरणमा पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा निर्माण गर्ने नीति अनुसार गौरीशंकर गाउँपालिका–२ को निलकण्ठेश्वर विद्यालय छनोटमा परेको हो ।

प्रदेश सरकारबाट कार्यक्रममा छनोट भएसँगै पूर्वाधार निर्माणको काम शुरु भएको छ । विद्यालय खुल्ने वित्तिकै विद्यालयलाई आवासीय गर्नका लागि काम तीब्रगतिमा बढाउने गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए ।

भवन निर्माण गरी विद्यालयलाई व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनबीचमा छलफल गर्ने जनाएको छ । प्रदेश सरकारको आवासीय विद्यालय सञ्चालन कार्यविधि २०७६ अनुसार यहाँको सो विद्यालयमा बजेट विनियोजन भएको हो । प्रदेशसभाषद् विशाल खड्काले आवसीरुपमा विद्यालय सञ्चालन हुने भएपछि व्यवस्थापन समिति र विद्यालय प्रशासनले अव शैक्षिक गनुणस्त र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै आवासीय भवन बन्ने , साँझ समेत पठन–पाठन हुने , आठसयसम्म बस्न सकिने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केदार खड्काले जानकारी दिए । विद्यालयलाई आवासीयरुपमा निर्माण गरेसँगै थप प्राविधिक संकाय र माथिल्लो तह अध्ययनका लागि अनुमति लिने तयारी भइरहेको छ । यसको लागि जुँगु भ्यू एकेडेमी र यार्सा आधारभुत विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि छ ।

विद्यालयका प्रधानाध्यापक शान्ता लामा शेर्पाले वाग्मती प्रदेश अन्तर्गत पाँच सामुदायिक विद्यालय पहिलो चरणमा आवासीयरुपमा सञ्चालनका लागि छनोट परेको बताए । यसरी छनोटमा पर्ने विद्यालयमा जनजागरण मावि सिन्धुली, रत्नराज्य मावि सिन्धुपाल्चोक, शंखादेबी मावि धादिङ र राप्ती मावि चितवन रहेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्