Logo

कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण



राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।

यसैबीच सेनाले वरिष्ठ मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको बताइएको छ । घटनाको खबर प्राप्त हुनासाथ सेनाले थालेको प्रारम्भिक अनुसन्धानमा सैनिक जवान र हाकिमहरूले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको देखिएको छ ।

हल्ला बढ्दै गएपछि सम्झाउँदा ‘केटाहरूले मर्यादा नाघेको’ सैनिक स्रोतको दाबी छ । रक्सीले मातेका क्याप्टेनहरूले पनि त्यहि सिलसिलामा उनीहरूलाई हल्ला नगर्न भन्दै निर्घात् कुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तर,दुबै तर्फबाट मर्यादाको पालना भने नभएको अनुसन्धानबाट पत्ता लागेको छ । गल्ति र कमजोरी जसले गरेपनि सोबमोजिमको कारबाही हुने सैनिक स्रोतले दाबी गर्यो । हुनतः शान्ति सेनामा रहेका प्रमुख सेनानीलाई समरी अदालत बस्ने अधिकार दिइएको हुन्छ ।

उसले जवान र अधिकृत दुबैलाई त्यहिँ एक हदसम्मको कारबाही गर्न सक्छ । शान्ति सेनामा एकजना प्राविधिक कानून अधिकृत र चिकित्सक पनि हुने भएकाले आवश्यक छानबीन र शारीरिक परिक्षण त्यहिँबाट गर्न सकिन्छ ।

कुटपिट गरिएका सैनिकमध्ये सख्त घाइते एकजना नायक रहेको बताइएको छ । हानाहानमा अरु धेरैजनाले चाँहि नशाको सुरमा अनुशासन र गति दुबै छाडेका थिए । शान्ति सेनामा जहिले पनि मुलुक फर्किने बेला यस्ता साङ्घातिक आक्रमणका घटना प्रायः हुने गरेको सैनिक अधिकृतहरू बताउँछन् ।

एक वर्षदेखि कङ्गोमा रहेको अहिलेको टोली पनि फर्किने बेला भएको छ । सेड्युलअनुसार दशैंअघि उनीहरूलाई नेपाल ल्याउने तयारी गरिएको छ । शान्ति सेनामा जानुअघि छ महिनाको बन्द तालिम र एक वर्षदेखि विदेशमा रहदा जवान र अधिकृतहरूमा चिडचिडाहटपन आउने भएकाले पनि यस्तो घटना हुने उनीहरूको अनुभव छ ।-जनआस्थाबाट



प्रतिक्रिया दिनुहोस्