Logo

बोनितालाई तेस्रो अन्तर्राष्ट्रिय अवार्ड



काठमाडौं, ११ असोज । पोषण र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएकी युवा अभियन्ता बोनिता शर्माले अन्तर्राष्ट्रिय अवार्ड पाएकी छिन् । अमेरिकी अर्बपति बिल गेट्स र उनकी श्रीमती मेलिन्डाको नाममा स्थापित ‘गेट्स फाउन्डेशन’ले हरेक वर्ष दिने ‘गोलकिपर ग्लोबल गोल्स प्रोग्रेस अवार्ड २०२०’ उनले पाएकी हुन् ।

अवार्डसँगै २८ वर्षीया उहाँले १० हजार अमेरिकी डलर पनि पाउनेछिन् । फाउन्डेशनबाट यो अवार्ड जित्ने उहाँ पहिलो नेपाली हुन् । बोनिताले समुदायस्तरमा गरेको कामको मूल्यांकन गर्दै यो अवार्ड दिइएको फाउन्डेशनले जनाएको छ । विगतका वर्षमा न्युयोर्कमै आयोजित कार्यक्रममा अवार्ड दिइने भए पनि यसवर्ष कोभिड–१९ का कारण त्यो सम्भव नभएको फाउन्डेशनले जानकारी गराएको बोनितानिकट स्रोतले बतायो ।

उनले गरेको कामको डकुमेन्ट्री बनाएर विभिन्न सञ्चारमाध्यम र विभिन्न ठाउँमा प्रेरणादायी कामको रूपमा देखाइन्छ । उनीसँगै यो अवार्ड नाइजेरियाकी एक महिला र भारतको एक संस्था (मास प्रोजेक्ट फाउन्डेशन) लाई दिइएको २२ सेप्टेम्बरमा गेट्स फाउन्डेशनको वेबसाइटमा राखिएको छ । गेट्स फाउन्डेशनले दीर्घकालीन विकास लक्ष्य हासिल गर्न युवाहरूको अभियानलाई प्रेरित गर्ने काम गर्दै आएको छ ।

कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्यले उनीसहितका तीनजना युवाले सोसल चेन्ज मेकर्स एण्ड इनोभेटर्स (सोचाइ) को सुरु गरेका हुन् । सोचाइले पोषणमाला तथा महीनावारी मालाजस्ता नयाँ सिर्जना गर्दै आमा, बच्चा, किशोर÷किशोरी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायलक्षित कार्यक्रम गर्दै आइरहेको छ ।

बोनिताले १९ वर्षको उमेरदेखि नै सामाजिक मुद्दामा काम गर्न थालेकी हुन् । महिला अधिकार र सामाजिक मुद्दामा काम गर्नुहुने आमा लक्ष्मीकै प्रेरणाले सामाजिक विषयमा काम गर्न प्रेरित भएको बोनिता बताउँछिन् । उनले चार वर्षअघि पाँच हजार अमेरिकी डलरको ‘एसिया प्यासिफिक इनोभेशन अवार्ड २०१६’ जितेकी थिईन् ।
बागमती प्रदेशको योजना आयोगको पोषण तथा खाद्य सुरक्षा सञ्चालक समितिकी सदस्य उनी गत वर्ष बीसीसीले सार्वजनिक गरेको ‘विश्वका १०० महिला’को सूचीमा पनि परेकी थिईन् । बोनिता महिला तथा बालअधिकारकर्मी हुन् । Photo Source: TRN daily



प्रतिक्रिया दिनुहोस्