Logo

बलात्कारीलाई मृत्युदण्ड दिलाउन अब बहस सुरु गरौं : झाँक्री



मुकुन्द कालिकोटे : काठमाडौं, ११ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले मानवता विरुद्धको जघन्य अपराधीहरुलाई मृत्युदण्ड दिलाउनको लागि कानुन बनाउन अब बहस सुरु गर्नुपर्ने बताएकी छन् ।

बलात्कारपछि हत्या गरिएकी बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका सम्झना कामीको लागि न्यायको माग गर्दै नेपाली कांग्रेस केन्द्रीय महिला विभागको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा आइतबार गरिएको विरोध प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै सांसद झाँक्रीले निर्मला पन्त र सम्झना कामीहरु जस्ता पीडितहरुलाई न्याय दिलाउनका लागि पनि मृत्युदण्डको सजाय हुनुपर्ने कानुन बताउन बहस गर्नुपर्ने बताएकी हुन् ।

जनतालाई पीरमार्का परेको अवस्थामा सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै सांसद झाँक्रीले भनिन्– “सिंहदरबार र न्यायालयलाई बारम्बार घच्घच्याउनुपर्छ र अपराधिलाई हदैसम्मको कारवाहीका लागि दवाव सिर्जना गरिरहनुपर्छ ।”

कांग्रेस नेतृ एवं कार्यक्रम कि संयोजक ईश्वरी न्यौपानेले सरकारले पीडितलाई न्याय दिलाउँछ भन्ने विश्वास नभएकै कारणले यो सडक बसह गर्नुपरेको दावी गरिन । कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, नेतृ एवं पद्मकन्या क्याम्पसकी पूर्व स्ववियु सभापति विनिता अधिकारीले सम्बोधन गरेका थिए ।

गत बुधबार साँझ घरबाट गोठमा गाईभैँसी बाँध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै बलात्कारपछि हत्या गरिएको थियो । घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्। घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्। उनका आमाबाबु रोजगारीका लागि भारतमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्