Logo

सौराहामा पर्यटकलाई ३० प्रतिशतसम्म छूट



चितवन, असोज १२ । कोरोना महामारीका कारण बन्द रहेर करिब ६ महीनापछि खुलेको सौराहाको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छूटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतवार आयोजित कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छूटको घोषणा गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छूट गरिने बताए । ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छूट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छौं,’ उनले भने ।

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाइ र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा ‘घुमौं चितवन’ अभियानका साथ जाने बताए ।

‘प्रमुख शहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्नेछौं,’ उनले भने । ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत संघसंस्थासँग समन्वय भइरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्