Logo

आमा गुमाएका चार बालबालिका बेपत्ता बाबु खोज्दै जुम्लामा



जुम्ला, असोज १२ । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, नौ वर्षीय नवीन विक र तीन वर्षीय आशीष विक जुम्ला सदरमुकाम खलङ्गा पुगेका हुन् ।

“हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौँ । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौँ तर कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन”, मधुले भने । सानो भाइ एक महिना हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको उनको भनाई छ।

“आमाको निधनपछि बाबुले अर्की आमा ल्याएर भागेका हुन् । त्यसपछि हामी चारै भाइबहिनी पञ्जाबमा विचल्लीमा परयौँ । सानो भाइ आशीष अहिले तीन वर्षको भयो । बाबाले पनि छाडेको पनि तीन वर्ष नै पुग्यो”, मधुले रुन्चे स्वरमा आफ्ना वेदना पोखिन । भारतमा मजदुरी गरेरै हुर्काएको एक महिनाको भाइ अहिले तीन वर्ष पुगेको छ ।

“भारतमा कोरोना फैलिएपछि मजदुरी गर्ने ठाउँ भएन । सबै नेपालीहरु नेपाल फर्कन थालेपछि हामी पनि कैलाली आयौँ । कैलालीमा पनि घरजग्गा बाबाले बेचेको थाहा पाएपछि नेपालगञ्ज, सुर्खेत हुँदै जुम्ला आएका हौँ”, मधुले थपिन्। उनीहरु बाबु खोज्दै जुम्ला पुगेको पनि अहिले १२ दिन पुग्यो । बेपत्ता बाबु खोज्ने क्रममा भौँतारिँदै जुम्लासम्म आइपुगेको उनको भनाइ छ ।

जुम्ला पुगेको दुईचार दिनपछि चन्दननाथ नगरपालिका–७ महतगाउँस्थित जनता माध्यमिक विद्यालय भवन निर्माणमा मजदुरको खाना पकाउने काम गरेबापतको दिनको ५०० रुपैयाँले बिहानबेलुकाको छाक टार्दै आएको मधुले सुनाईन् ।

बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गरेका छन्। जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो । प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि उद्धार गरिएको हो ।

बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उनले जानकारी दिए। उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ ।

“बालबालिकाले अझै आफ्नो स्थानीय ठेगाना र अभिभावकको नाम बताउन सकेका छैनन्”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने “यस विषयमा प्रहरी संयन्त्रमार्फत कैलालीमा पनि खोजी गर्छौँ । बालबालिकालाई मेडिकल परीक्षणसहित सेवा केन्द्रमा राखिएको छ ।”

अल्पकालीन सेवा केन्द्रकी अध्यक्ष भगवती श्रेष्ठका अनुसार अस्थायीरूपमा सेवा केन्द्रमा राखिए पनि दुई बालिका १६ र १७ वर्षका भएकाले दुव्र्यवहारमा पर्न सक्ने देखिएर सुरक्षित राखिएको हो । उनले भने, “यस्ता बालबालिकाको अभिभावक भनेको राज्य नै हो । त्यसका लागि प्रशासनसँग कुरा चलाएका छौँ ।रासस



प्रतिक्रिया दिनुहोस्