Logo

दुई छात्रालाई छात्रवृत्ति दिइने



पोखरा, १२ असोज: पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनीयरिङ अध्ययनका लागि गरिब तथा जेहेन्दार दुई छात्रालाई उपप्रमुखसँग महिला कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गरिने भएको छ ।

महानगरपालिकाका उपप्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा आइतबार बसेको बैठकबाट दुई छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको जनाइएको छ । “पोखरा महानगरका ३३ वटै वडाका गरिब तथा जेहेन्दार छात्रामध्येबाट दुई जनालाई अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्च उपप्रमुखसँग महिला कार्यक्रमबाट व्यहोर्ने छौँ, सिभिलमा अध्ययन गर्ने महिलाहरु भए पनि अटोमोबाइल इन्जिनीयरिङ अध्ययनमा प्रोत्साहित गर्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका हौँ”, गुरुङले भने ।

उनका अनुसार अध्ययन गर्न चाहने छात्राले यहि असोज १५ गतेभित्र प्रवेश परीक्षाका लागि फर्म भर्न अनुरोध गरिएको छ । इन्जिनीयरिङ क्षेत्रमा महिलाको सहभागिता कम भएकाले सबै क्षेत्रमा महिला अब्बल बन्नुपर्छ भन्ने सन्देश दिन र आत्मबल बढाउन छात्रवृत्ति प्रदान गरिएको उनले बताए । वडा नं २९ भण्डारढिकमा रहेको गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङको पढाइ यसै वर्षदेखि शुरु हुँदैछ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्