Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, १२ असोज । अवैध लागूऔषध सहित सन्तोष परियार पक्राउ परेका छन् । पोखरा महेन्द्रपुल बस्ने लमजुङ मध्यनेपाल घर भएका परियारलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

परियारले अबैध लागूऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले परियारको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका कालीदमारबाट करिब ४ सय २० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित वीरेन्द्रनगर नगरपालिका लाटिकोइलीका कमल घिमिरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.४ ख ३७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार घिमिरेलाई उक्त परिमाणको धुलो सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

त्यसैगरी मेचीनगर नगरपालिका खयरडाँगीका १८ वर्षीय किशोरलाई करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्