Logo

एसिड आक्रमण गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने कानुन आजबाट लागू



काठमाडौं, १२ असोज । एसिड आक्रमण गर्नेलाई २० वर्षसम्मको कैद सजाय हुने गरी सरकारले सजाय व्यवस्था गरेको कानुन आजबाट लागू भएको छ । बिहिबार मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् अध्यादेश जारी गरेकोमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि कानुन लागू भएको हो ।

आज प्रमाणिकरण भएको अध्यादेशमा तेजाब तथा अन्य घातक रसायनिक पद्धार्थ नियमन अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७७ छन् ।

आज प्रमाणिकरण भएको अध्यादेशमा एसिड आक्रमणका बखत दुवै आँखा जली व क्षति भई पूर्ण रुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भए सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भएको अवस्थामा दुवै स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, यौनाङ्ग जली वा क्षति भई नासिएमा कसूर गर्ने वा गराउनेलाई २० वर्ष कैद र दश लाख जरिवानाको व्यवस्था गरिएको छ ।

आँखा, कान एउटा जलेमा वा क्षति भएर काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जलेमा वा क्षति भई कुरुप भएमा, महिलाको एउटा स्तान जलेमा, दुवै हात जली काम नलाग्ने भएमा वा दुवै गोडा पूर्ण रुपमा काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जलेर क्षति भएमा वा मेरुदण्ड जलेर काम नलाग्ने भएमा १० देखि २० वर्षसम्म कैद र १० लाखसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

शरीरको कुनै अंगमा क्षति भएमा पाँच देखि दश वर्षसम्म कैद र ५ लाखसम्मको जरिवाना व्यवस्था गरिएको छ । एसिड आक्रमण पीडितको मृत्यु भएमा कसूर गर्नेलाई ज्यान मारेको जतिकै सजाय हुने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्