Logo

प्याकेजिङ मेटेरियलमा दिएको सुविधामा विवाद



विराटनगर, असोज १३ । सरकारले प्याकेजिङका लागि आयात गरिने सामग्रीमा दिँदै आएको महसुल धरौटीको सुविधा दिन रोकेको छ । यसमा प्याकेजिङ सामग्री उत्पादक कम्पनी र उद्योगीहरूबीच फरकफरक धारणा आएको छ ।

उद्योगीहरू नेपालमा पर्याप्त मात्रामा प्याकेजिङका सामग्री उत्पादन नहुने र उत्पादन गरिएका सामान पनि तुलनात्मक रूपमा महँगो पर्ने भएकाले त्यसले उत्पादन लागतमा समेत भार परेको बताएका छन् ।

क्वालिटी रिफाइनरी सञ्चालक विपीन कावराले भारतबाट १५ किलो जाने टिन आयात गर्दा भारतीय ७० रुपयामा आउने तर नेपालमा किन्दा यसको मूल्य १ सय ४२ रुपैयाँ पर्दै आएको बताए । कावराले १५ ओटा तेल उद्योगले अहिले प्याकिङ गर्ने टिन नपाउँदा समस्या परिरहेको जानकारी दिए । पहिले पाम आयल र अहिले भटमासको तेल निकासीमा टिनमा प्याकिङ हुँदै आएको छ ।

सरकारले आर्थिक ऐन २०७७ ले निकासी वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने उद्योगलाई महसुल धरौटीमा राख्न सक्ने सुविधा दिएको थियो । ऐनले गरेको व्यवस्थाअनुसार उद्योगहरूले ल्याउने कच्चा पदार्थ, स्वदेशमा उत्पादन हुने प्याकिङ मेटेरियलसहितका सहायक कच्चा पदार्थ महसुल धरौटीमा ल्याउन पाउने गरेको व्यवस्थालाई अहिले उद्योग विभागले रोकिदिएपछि उद्योगहरू रुष्ट बनेका हुन् ।

आयात गरिएकै प्याकिङ मेटेरियलमा तयारी उत्पादन निकासी गर्दा कागजातका आधारमा धरौटी रकम फिर्ता हुँदै आएको थियो । तर, अहिले विभागले छूटको सिफारिश रोकिदिएपछि भारतबाट तेल प्याकिङका लागि प्रयोग हुने टिनको आयात रोकिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्