Logo

स्थानीयको अवरोधले भेरी-बबई डाईभर्सनको निर्माण कार्य ठप्प



काठमाडौं, १३ असोज । स्थानीय जग्गाधनीको अवरोधले गर्दा राष्ट्रिय गौरवको भेरी-बबई डाईभर्सन बहुउद्देश्य आयोजनाको निर्माण कार्य रोकिएको छ । जग्गा लिजमा उपलब्ध गराएबापत परिवारका सदस्यलाई रोजगारीको माग राख्दै जग्गाधनीले पछिल्लो समय आन्दोलन गरेपछि आयोजनाको काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

स्थानीयले ५२ रोपनी जग्गा ५ वर्षका लागि लिजमा आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीलाई दिए वापत १७ जनालाई रोजगारी नदिएसम्म काम सुचारु गर्न नदिने माग राख्दै ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध गरिएको आन्दोलनरत पक्षका अगुवा टेकबहादुर सार्कीले बताएका छन् । उनीहरुले राखेको मागमा लिजमा जग्गा दिएका परिवारका सदस्यलाई रोजगारी दिनु पर्ने, कन्ट्रयाक्टर क्षेत्रमा ढल निकासको व्यवस्था गर्नुपर्ने र कन्ट्रयाक्टर क्षेत्र निर्माण गर्दा नष्ट भएका रुखविरुवाको क्षतिपूति दिनु पर्ने रहेका छन् ।

यता आयोजना निर्माण ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका जनसम्पर्क अधिकारी पिताम्वर सापकोटाले स्थानीयको अवरोधका कारण तीनदेखि आयोजनाको काम रोकिएको जनाएका छन् । अहिले ड्याम साईट (हेड वक्र्स) को काम अवरुद्ध हुँदा ठेकेदार कम्पनी गुआंग्डोङ युआनियन/रमन जेभीका २६५ जना कामदार कामविहिन भएका छन् ।



प्रतिक्रिया दिनुहोस्