Logo

ट्रम्प प्रशासनले चुनावलाई लक्षित गरी चीनको टापुमा आक्रमण गर्ने आशंका; चीनद्वारा खतरनाक प्रत्याक्रमणको चेतावनी



एजेन्सी, १३ असोज । चीनले दाबी गरेको टापुमा अमेरिकाले आक्रमण गर्ने चर्चा चलेको छ । चीनले भने त्यस्तो आक्रमण भएमा खतरनाक प्रत्याक्रमण गर्ने चेतावनी दिएको छ ।

चीनको विदेश मामलाबारे जानकारी दिदै आएको ग्लोबल टाइम्सले सम्पादकीयमार्फत् अमेरिकाले चिनियाँ टापुमा आक्रमण गरे प्रत्याक्रमण गर्ने चेतावनी दिएको हो । ग्लोबल टाइमसले सम्वादकीयमा भनेको छ, ‘अमेरिकाद्वारा चीनका टापुमाथि हुनसक्ने आक्रमणको खतरनाक प्रत्याक्रमण हुनेछ ।’

अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा अमेरिकाले चीनविरुद्ध कुनै आक्रमणको कदम चाल्न सक्ने आशंका समेत गरिएको छ । अमेरिकी विदेश मन्त्रालयले सोमबार चीनले नान्सा टापुमा निर्माण गरेकोप्रति आलोचना समेत गरेर विज्ञप्ति जारी गरेको छ । अमेरिकी सेनाले ड्रोन आक्रमणका लागि पठाउन सक्ने समेत रिपोर्टहरु सार्वजनिक भएको छ ।

यदि नान्सा टापुमा अमेरिकाले ड्रोन हमला गरेमा चीनले यसलाई युद्धको कदम भन्ने ग्लोबल टाइम्सले लेखेको छ । त्यतिबेला चिनियाँ जनमुक्ति सेनाले प्रत्याक्रमण गरेर अमेरिकी सैनिकले ठूलो मूल्य चुकाउनुपर्ने अवस्था निर्माण गर्ने चेतावनी दिएको छ ।

ट्रम्प प्रशासनले पुनः निर्वाचित हुन कुनै सैन्य संकट ल्याउन खोजेको समेत आरोप लगाइएको छ । चीनलाई तारो बनाएर युद्धको अवस्था ल्याउन सक्ने र शान्तिलाई बिगार्न खोज्ने खतरा समेत औल्याएको छ । ग्लोबल टाइम्सले अमेरिकाको सम्भावित आक्रमणलाई लक्षित गरी सम्पादकीयमा लेखेको छ, हाम्रो एउटै विकल्प कडा आक्रमण गर्नु हो र अमेरिकाले कहिल्यै नबिर्सने पाठ सिकाउनु हो ।



प्रतिक्रिया दिनुहोस्