Logo

महामारीमा पनि सुन र रक्तचन्दनको धन्दा



काठमाडौं, १३ असोज । देशको विषम परिस्थतिमा पनि धन्दा चलाउनेहरुलाई भने अवसर बन्ने गरेको छ । अहिले कोरोना महामारीको समय कतिपयलाई अवसर बनिरहेको छ । कोरोना महामारीको समयमा पनि सुन तस्करी नरोकिएको स्रोत बताउँछ । वर्षाैदेखि सक्रिय पुरानै समूहले अहिले पनि सुन तस्करीको धन्दा चलाउँदै आएको छ । यस्तो बेला राज्यको ध्यान अन्यत्र केन्द्रीत हुने भएकाले तस्करहरु सल्बलाएका हुन् ।सिन्धुपाल्चाकको नारायण पौडेलको समूहले अहिले पनि सुन, रक्तचन्दन तथा अवैध डलर तस्करीको धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ । केही समययता चीनसँगको नाकामा अवरोध भएकाले उनीहरुको तस्करीमा काममा बाधा पुगेपनि धन्दा रोकिएको छैन ।

उच्च प्रहरी स्रोतका अनुसार नारायण पौडेलको समूहले लकडाउन सुरु भएयता ३÷४ पटक सुन तस्करी गरिसकेको छ । तर, प्रहरीले बरामद गर्न सकेको छैन ।

चार वर्षअघि सोही समूहले ल्याएको २२ किलो सुन भरियाले नै लुटेर भागेका थिए । पछि सो समूहले प्रहरी नै प्रयोग गरी भरियालाई नियन्त्रणमा लिई सुन फिर्ता लिएको थियो । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरीले त्यसरी लुटिएको सुन फिर्ता गर्न सहयोग गरेका थिए । त्यतिबेला वृत्तमा सोमेन्द्रसिंह राठौर इन्चार्ज थिए । अपराध महाशाखाका प्रहरी समेत मिलेर त्यसरी सुन फिर्ता गराएका थिए भने त्यसको आधार सुन प्रहरीले नै राखेको स्रोत बताउँछ ।

‘त्यो सुन चिनियाँ व्यापारीको थियो । नेपालबाट भारत पठाउने कामको जिम्मेवारी तरुण दल धादिङका अध्यक्ष दिनेश लामाको थियो,’ स्रोत भन्छ, ‘धेरै सुन प्रहरीले नै राखेपछि लामाले असन्तुष्टि जनाएका थिए । त्यसपछि उनलाई लागू औषध मुद्दामा जेल हालिएको थियो । लागू औषध नियन्त्रण ब्यूरोले त्यसबेला लामालाई पक्राउ गरेको थियो । सुनकाण्डको गोपनियता लुकाउन त्यसरी पक्राउ गरिएको स्रोत बताउँछ । त्यसमा सिन्धुपाल्चोकका नारायण पौैडेल, सुमन पौडेल लगायतको समूह समेत मिलेको थियो ।

नारायण पौडेलका भाई राजकुमार पौडेल पनि तीन वर्षअघि सुन तस्करीमा मुछिएका थिए । १४ भदौ २०७४ मा केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले टोखाबाट १५ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ गरेको थियो । राजकुमार पौडेलको नेतृत्वमा सो सुन तस्करी भएको खुलेको थियो । पौडेललाई प्रहरीले पक्राउ नगरी फरारका रुपमा मुद्दा दायर ग¥यो । पछि अदालतमा सेटिङ मिलाएर उनी छुटेका थिए । प्रहरीदेखि अदालतसम्म सेटिङ भएका उनीहरु अहिले पनि तस्करीमा सक्रिय रहेको स्रोत बताउँछ ।

महानगरीय अपराध महाशाखाले गत साता बौद्धबाट रक्तचन्दनसहित केही युवालाई पक्राउ गरेको थियो । गिरोहका नाइकेमा सिन्धुपाल्चोककै व्यवसायी भएपनि प्रहरीले उनीहरुलाई जोगाएको छ । साथै उनीहरुले एक ट्रक रक्तचन्दन ल्याएको भएपनि प्रहरीले थोरै मात्र बरामद गरेकाले पनि घटना रहस्यमय बनेको प्रहरी स्रोत बताउँछ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्