Logo

मन्त्रिमण्डल भागवण्डा मिलाउन ओली-प्रचण्डबीच निर्णायक वार्ता



काठमाडौं, १३ असोज । मन्त्रिमण्डल भागवण्डाको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । आजको छलफल मन्त्रिमण्डलको संख्या र भागवण्डाबारे निर्णायक हुने बताइएको छ ।

पटक पटकको वार्ताबाट दुवै अध्यक्षबीच सहमति हुन नसकेपछि आज फेरि वार्ता चलेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल फुटाएर २५ बनाउने र त्यसमा प्रचण्डलाई यसअघिको जत्तिकै ७ मन्त्रालय दिने प्रस्ताव गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, प्रचण्डले कम्तिमा १० मन्त्रालयमा दाबी गरेका छन् ।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षलाई पनि मिलाउनुपर्ने भन्दै ओलीले भागवण्डामा प्रचण्डलाई यसअघि पाएकोभन्दा नबढाउने प्रस्ताव गरेका हुन् । पार्टीभित्रको सबै पक्षलाई मिलाएर लान ओलीले भागवण्डा मिलाउन प्रचण्डसँग सहमति गर्न खोजेका हुन् ।

यसैगरी, मन्त्रिमण्डलमा प्रचण्ड पक्षधरले विगतमा पाएको मन्त्रालय छाड्नुपर्ने अवस्था पनि आउनसक्ने बुझिएको छ । तर, प्रचण्डले यसअघि आफ्नो भागवण्डामा पाएको मन्त्रालय कायमै हुनुपर्ने अडान राखेका छन् ।

मन्त्री बन्ने नामहरुबारे पनि दुई अध्यक्षबीच हिजो छलफल भएको बुझिएको छ । आज पनि त्यसबारे छलफल हुने एजेन्डामा रहेको विश्वस्त स्रोतले बताएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्