Logo

‘कुनै व्यक्तिभन्दा पनि प्रवृत्तिको हामीले विरोध गरेका छौँ’ : जोशी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले आफुहरुले व्यक्तिका विरुद्धमा भन्दापनि नेतृत्व प्रवृत्तिका विरुद्धमा सुझावपत्र दर्ता गराएको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘हामीले कुनै व्यक्तिको विरुद्धमा नभईकन यो प्रवृत्तिका विरुद्धमा गरेका हौँ । नम्बर एक त के छ भने महाधिवेशनको कुरा पूरा गरेका छौँ, दुई नम्बरमा हामीले के भनिरहेका छौँ भने लोकतन्त्रका विरुद्धमा आफुलाई अधिनायकवादतिर उन्मुख गराउने लगेको प्रस्ट रूपमा देखिन्छ ।’ प्रस्तुत छ नेता जोशीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईँहरूले पार्टी सभापतिलाई किन असहयोग गर्नुभयो ? शेरबहादुर देउवालाई किन अल्टिमेटम दिनुभयो ? के कारणले दिनुभयो ?

हामीले नेपाली कांग्रेसमा कुनै व्यक्तिका विरुद्धमा होइन, प्रवृत्तिका विरुद्धमा अहिले हामीले एउटा हिजो जुन सुझावपत्र भन्नु्होस् या विरोधपत्र भन्नुहोस्, पार्टी विधिसम्मत चल्नुपर्छ । आगामी १४औं महाधिवेशन जुन छ, फागनु ७ गते, त्यो निर्णय नेपाली कांग्रेसले गरेको छ । यथासमयमा त्यो महाधिवेशन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्छ भन्ने कुरालाई हामीले मूल रूपमा राखेका छौँ । र, अहिले नेपाली कांग्रेसको विधानले पनि चार वर्षको अवधि अधिवेशनको लागि भनेको छ । त्यसमा विशेष परिस्थितिमा एक वर्ष थप्ने प्रावधान पनि छ । तर त्यो बीचमा निष्पक्ष रूपमा महाधिवेशनको तयारी गरौँ, सक्रिय सदस्यको काम टुंग्याऔँ भन्ने प्रतिबद्धतामा धेरै केन्द्रिय सदस्य साथीहरूले बोल्नुभएको थियो, समय हुँदैछ यो । समय हुँदै काम गर्ने आफ्नो जिम्मेवारी पूरा गर्ने काम हुनुपर्छ । सभापतिले त्यसतर्फ प्रेरित गर्नुपर्ने, काम गर्ने प्रवृत्ति, कर्मशीलता कमी हुन थालेकोे छ । आफ्नो जिम्मेवारी पूरा नगर्ने आजको पार्टीको महाधिवेशनदेखि लिएर संस्थासम्मका कुराहरूमा, त्यसैले अहिले पनि के छ भने निश्चित रूपमा महाधिवेशन कहिले हुने भन्ने जुन निस्क्रियता देखिन्छ, महाधिवेशन घोषणा त भयो तर फागुनमा नै गर्न जुन किसिमको क्रियाशीलता, सक्रियता हुनुपर्ने हो, त्यो हामीले पाईरहेका छैनौँ ।

महाधिवेशन गराउने सबैको दायित्व हो नि त । तपाईँको पनि त हो नि, होईन र ?

हामीले भनिरहेका छौँ नि त । सबैको दायित्वभित्र परेकै हुनाले महामन्त्रीज्यु, कोषाध्यक्षज्यु, पूर्वमहामन्त्रीज्युहरूले त्यसको मूल आशय नै के भने समयमा निर्वाचन, हामी त महाधिवेशनका लागि आवश्यक पर्छ भने सहयोग गर्न तयार छौँ । हामी गरिरहेकै छौँ ।

तर तपाईँहरूले त विवादको बीउ रोप्नुभयो नि त, कांग्रेसभित्र । यो हस्ताक्षरले त कांग्रेसमा द्वन्द्व देखियो नि ?

हामीले कुनै व्यक्तिको विरुद्धमा नभईकन यो प्रवृत्तिका विरुद्धमा गरेका हौँ । नम्बर एक त के छ भने महाधिवेशनको कुरा गरेका छौँ, दुई नम्बरमा हामीले के भनिरहेका छौँ भने लोकतन्त्रका विरुद्धमा आफुलाई अधिनायकवादतिर उन्मुख गराउने लागेको प्रस्ट रूपमा देखिन्छ । अब यो सरकारका विरुद्धमा आज नेपाली कांग्रेसले यसको भ्रष्टाचार, आम नागरिकको स्वास्थ्यको केही वास्ता गरेको छैन । आज ओम्नीदेखि लिएर सुनकाण्डदेखि लिएर आजसम्म कोभिड–१९ को सन्दर्भमा मुलुकमा भ्रष्ट्राचार भएको छ । ह्वाइट बडीका कुरा छन् । निर्मला पन्त, अस्तिको सम्झना १२ वर्षको बालिकाको कुरा छन् । जनता त आज भोकभोकै मर्ने अवस्थामा छन् । जनताले नेपाली कांग्रेसबाट अपेक्षा राख्छन् । के अपेक्षा राख्छन् भने समस्यालाई लिएर नेपाली कांग्रेसले सशक्त रूपमा अगाडि बढोस् भन्ने र हामीले दोस्रो कुरा के गरिरहेका छौँ भने मूलत: भ्रष्ट्राचारमा लिप्त छ सरकार, अधिनायकतर्फ अगाडि बढेको छ । हामीले प्रतिपक्षको दायित्व निभाउँनुपर्छ । पार्टीभित्रकै वर्चस्वको चिन्तामा अल्मलिनुहुँदैन । मूलत: आम नागरिकको जुन विश्वास र अपेक्षा छ, त्यहीअनुरूप आफुलाई त्यो राजनीतिक एक्सनमा सडकदेखि सदनसम्म लग्नुपर्छ भनेर हामीले भनेका छौँ । यो कुरामा संगठनको आन्तरिक जीवनमा सुदृढ गर्नुपर्छ ।

तपाईँहरूको मुख्य माग भनेको क्रियाशील सदस्यता वितरणमा धाँधली भयो भन्ने हो ?

यसमा के भन्दाखेरि हामीले एउटा त विधि÷विधान संरक्षण हुनुपर्छ । पार्टी विधानको पालना र संरक्षण कसल गर्ने त ? केन्द्रिय समितिले, पार्टी सभापतिज्युले त्यसतर्फ ध्यान दिनुपर्छ । जुन अवैधानिक निर्णयहरू छन्, स्थानीय समायोजनका विषयमा अवैधानिक निर्णयहरू भएका छन्, ती निर्णयहरू खारेज हुनुपर्छ, विधानले नदिएका विषयहरू । आज पनि सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लाको समायोजन प्रक्रिया पूरा हुन सकेन । यसको पछाडि के कारणहरू छन् ? यदि हामी महाधिवेशन गर्छौँ, महाधिवेशनमा नयाँ–नयाँ नेतृत्वहरू आउँछन्, गाउँगाउँमा अहिलेका सरकारका क्रियाकलाप र बहस छन्, पार्टीलाई कसरी अगाडि लग्ने ? पार्टीलाई राम्रो रूपमा अगाडि लग्ने कुराहरूमा बहस हुन्छन् । पार्टीभित्र एक किसिमको एकता जगाउन आवश्यक छ । त्यो विश्वासको वातावरण आवश्यकता छ भने हामी यो व्यवहार गर्न थालिएको छ, यो निन्दनीय छ । त्यसैले के भन्दाखेरि मूलत: सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक जिल्लाहरूमा सबै कुरा टुंगिसकेको छ । क्रियाशीलता वितरणमा अवरोध गरिएको छ । सोलुखुम्बु जिल्लाको कुरा गर्नुहुन्छ भने त्यहाँ केन्द्रिय रूपले नै जाँचबुझ गरीकन सिफारिस गरिसकेको अवस्था छ । समायोजनको कुरा र क्रियाशील सदस्यताको कुरा गर्दा रसुवाको कुरा गर्ने हो भने सम्बन्धित तहको सिफारिसमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गरेर पठाएको स्थिति छ । भनेपछि जिल्लाहरूलाई तपाईँले यसरी हेर्नुभयो भने सर्लाहीमा विधानविपरित भएको छ । सप्तरीमा निर्देशिकाबमोजिम समायोजन होस् । हामीले के भनेका छौँ भने सबै हाम्रो बुँदा हो कि जुन विधान छ, जस्तो हामीले निर्वाचन समितिलाई निर्देशिका दिएका छौँ, समायोजनमा । त्यो निर्देशिकाको कार्यविधि विपरित नहोस्, कार्यविपरित भईदियो भने त्यो त के हुन्छ भने विधानविपरित हुन्छ । हस्तक्षेप स्पष्ट रूपमा त्यहाँ देखिन्छ ।

तपाईँहरूले नवप्रवेशीहरुलाई ठाउँ दिन हुँदैन भनेर किन भनिरहनुभएको छ ? भन्नुहोस् त । तपाईँहरूको त ज्ञापनपत्रमा पनि त्यही कुरा लेखिएको छ । सुनिलबहादुर थापालाई सहमहामन्त्री किन बनाउने भनेर तपाईहरुले विरोध गर्नुभएको छ नि ?

गलत सन्देश हो । सबैलाई हामी हार्दिक स्वागत गर्दछौँ । हामी त अहिले युवा पुस्तालाई लिएर आऔँ, सम्मानीत गरौँ भनेर लागिरहेका छौँ । जो आउँछन हामीले हार्दिक स्वागत गर्छौँ । कसलाई कुन तहमा राख्ने, के गर्ने भन्ने कुरा विधानले पनि भनेको छ । स्पष्ट रूपमा केन्द्रिय कार्यसमितिमा आउनुपर्छ । जसलाई पायो त्यसलाई जुन पायो त्यही पदको कुरा त होइन नि त । चाहे त्यो रसुवाको कुरा गर्नुहोस्, चाहे त्यो तपाईँले अहिले भनेको व्यक्तिको कुरा गर्नुहोस् । एउटा पार्टीभित्र विधि÷विधान, प्रक्रिया छ । त्यो प्रक्रियालाई सबैले अबलम्बन गरेर अगाडि बढ्नुपर्छ भनेर हाम्रो निर्देशिकाको कुरा गरेका छौँ, हामीले विधि÷विधानको कुरा गरेका छौँ । हामीले त्योभन्दा बाहिर कुरा गरेका छैनौँ । त्यसैले क्रियाशील सदस्यता दिने कुरा पनि जुन किसिमले एउटा आग्रह, पूर्वाग्रह नराखौँ, अहिले नेपाली कांग्रेसको एकता व्यापक आवश्यकता हो । नयाँ र पुराना पुस्ताबीच पार्टीभित्र विधानलाई मानेर अगाडि बढ्नुपर्छ । यसमा सभापतिको अग्रणी भूमिका हो । जुन किसिमले विवादलाई वैचारिकता दिनुपर्छ, त्यो हुनुपर्छ ।

अब मलाई के बताउनुहोस् भने अहिलेको अवस्थामा तपाईँहरूले अल्टिमेटम दिनुभएको छ, यदि एक हप्ते अल्टिमेटमको अवधिमा पार्टी सभापति शेरबहादुर देउवा नसच्चिए, अब तपाईँहरूले चरणबद्ध रूपमा आन्दोलन गर्ने भन्नुभएको छ । कस्तो किसिमको आन्दोलन गर्नुहुन्छ ? आन्दोलनको स्वरूप कस्तो हुन्छ ?

आन्दोलनको स्वरूप त आम कार्यकर्तालाई मोभिलाईज गर्ने, आम कार्यकर्ता मोभिलाईज हुन्छन्, आम कार्यकर्ताको बीचमा एउटा विश्वासको वातावरण कसरी बनाउन सकिन्छ ? मूल कुरा के हो भने महाधिवेशन निष्पक्ष, विधिसम्मत, पारदर्शी होस्, सबैले इमानदारीपूर्वक महाधिवेशनमा भाग लिन पाऊन् । एउटा अझ संगठित हुने मौका होस् । प्रत्येक कार्यकर्ताले मैले विधानको पालना गर्नुपर्छ भन्ने त्यो जागरण र हौसला होस् । त्यहाँ खुल्ला रूपमा बहस र छलफल हुन सकोस् । त्यो निष्ठाको नेपाली कांग्रेस, हामीले सोचेका छौँ । त्यो कर्तव्य पूरा गर्न सक्ने कांग्रेस होस् ।

तपाईँहरू धर्नामा जानुहुन्छ, जुलुस निकाल्नुहुन्छ, । अनशन बस्नुहुन्छ अब ?

हामीलाई के लागेको छ भने सभापतिले जुन कुरा हामीले भनेका छौँ, विधि, विधान, कार्यविधि नेपाली कांग्रेसको विधानले जुन कुरा भनेको छ, त्यो कुरा गर्नुहोस् भनेर भनेका छौँ । कुनै व्यक्तिभन्दा पनि प्रवृत्तिको हामीले विरोध गरेका छौँ । आफ्नो भन्नेलाई पूर्वाग्रही राखेर नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई समग्र रूपमा न्यायपूर्ण रूपमा सबैलाई हेरिनुपर्छ । त्यहाँ जे नियम छ, जे कानुन छ, त्यो कानुनलाई पालना हुनुपर्छ । इतिहासको यो कठिन र चुनौतीपूर्ण अवस्था हामीले हाम्रो एउटा गौरवशाली पार्टी, तीनओटा क्रान्तिको नेतृत्व गरेको पार्टी, संविधान लिएर आएको पार्टी, कानुनको शासनमा विश्वास गर्ने पार्टी, त्यो अवस्थामा हामीले के हेर्न आवश्यक छ भने राजनीतिलाई हामीले अझ पनि विश्वसनीय बनाउन आवश्यक छ । त्यो क्रममा नेपाली कांग्रेसको महाधिवेशनले भूमिका निभाउनुपर्छ । त्यहाँ सबैलाई भूमिका दिन सक्नुपर्छ ।

महाधिवेशन समयमा नै हुनुपर्छ, फागुन ७ बाट हुनुपर्छ भन्ने तपाईँको दबाब हो ?

एकदम एकदम । एक वर्ष त अझै विधानले दिएको समय पनि फागुनमा सिद्दिन्छ त । परिस्थिति के छ भन्दाखेरि चार वर्षभित्र नै गर्न सकिन्थ्यो । यो बीचमा विभागको कुरा गर्नुहोस्, विभागहरू गठन भए । महासमितिले अठ्ठाईस विभागको कुरा पारित गरेको छ, विभाग छ महिनामा गठन गर्नुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ । विभागका विषयमा नै शुशील कोइराला पार्टी सभापति हुँदा आदरणीय हाम्रो शेरबहादुर दाई वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँले नै समयावधि नाघेको हुनाले म स्वीकार्दिन भनेर राजीनामासम्मको कुराकानी भयो । तरुण दलका युवाहरु र विद्यार्थीहरू अनशन बसे । यो अवस्थामा सभापतिजीले जुन मापदण्ड राख्नुभयो, आज के त्यो मापदण्ड परिवर्तन हुने ? आज त महाधिवेशन आउँदैछ । यो अवस्थामा विभागहरू बनाउँदाखेरि वास्तवमा चारवर्षभित्र बनाएको भए स्थानीय, प्रदेश, र केन्द्रको निर्वाचन अगाडि आज पाँचसय, नौसयजनाले क्रियाशील सदस्यता पाउँथे नि त । हामीले बारम्बार भनेका पनि हौँ । जुन विधानले दिएको छ, त्यो गर्नुहोस् है भनेर तर उहाँले गर्नुभएन । अहिले आएर महाधिवेशनलाई प्रभावित हुने गरी विभागमा बस्नेहरूको पनि असम्मान हो त्यो । अवैधानिक रूपमा बनेको विभागको कुराहरू आयो । जनसम्पर्क समितिहरू जुन छ, त्यसमा पनि हामीले के भनेका छौँ भनेदेखि अधिवेशन होस् ।

धेरैको गुनासो छ–तपाईहरुले सभापतिलाई काम गर्न दिनुभएन भनेर । तपाईँहरूले पनि त चार वर्षसम्म विरोध गर्नुभयो नि ?

सभापतिजीले चाहेको कुन काम गर्न सक्नुभएको छैन ? कतिपय कुरा बहुमत र अल्पमतका कुरा होइनन्, मूल कुरा पार्टीको स्पिरिट के हो ? आज संविधानको रक्षा कसरी गर्ने ? लोकतन्त्रको रक्षा कसरी गर्ने ? फेडेरल सिस्टमको खिल्ली उडाईएको छ । युनिलेक्च्युअल सिस्टमभित्र फेडेरल सिस्टम जस्तो गरिएको छ । समावेशीका कुरामा वेशिक फिचरमाथि नै प्रहार गरिएको छ । आज पार्लियामेन्टलाई सरकारमाथि जिम्मेवार बनाउन खोजिएको छ । पार्लियामेन्टप्रति सरकार जिम्मेवार हुनुपर्ने तर पार्लियामेन्टलाई जिम्मेवार बनाउन खोजिएको छ । आज कानुनबाट होइन, कानुन बनाएर शासन गर्छु भन्ने वर्चस्व बढ्न थालेको छ । उनीहरू जथाभावी गर्न थालेका छन् । यो कुरालाई लिएर हामी सडकमा किन गएनौँ भन्ने कुराहरू हामीले प्रश्न गरेका छौँ । आज मिडियालाई लोकतन्त्रको लागि म तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु । भोकभोकै सडकमा हिँडिरहेको, बसिरहेको कुरा, सरकार के भन्छ, कसैले पनि खान नपाएको कुरामा तपाईँ मिडिया साथीहरूले सबै ठाउँमा खिचेर देखाइदिनुभएको छ, सरकारलाई सचेत गराउनुभएको छ । आज त्यसैले के हो भने लोकतन्त्रको जुन स्पिरिट हो, लोकतन्त्रको मूल्य र मान्यता नै नेपाली कांग्रेसको वेशिक कार्य हो ।

आगामी केन्द्रिय समितिको बैठकमा तपाईँहरू भाग लिनुहुन्छ कि हुन्न ?

अवश्यै हुन्छौँ । केन्द्रिय समितिको बैठकले नै सबै कुराको छिनोफानो गरोस् । म तपाईँलाई भातृ संस्थाकै कुरा गरुँ, नेविसंघको तपाईँले देख्नुभएको छ, समयावधि सिद्धियो, यो साँढे चारवर्षको तपाईँले स्थिति हेर्नुभयो भने अधिवेशनको लागि तरुण दलमा चारजना भन्दा बढी छैनन् । आज एउटा भातृ संस्थाको अध्यक्ष भईसकेपछि केन्द्रिय समितिमा तल्लो निकायदेखि छोड्नुपर्छ, माथिल्लो निकायमा जाँदाखेरि, त्यो कुनै स्थिति छैन । त्यसैले नेपाली कांग्रेस भनेको यस्ता भातृ संस्थाहरूलाई क्रियाशील बनाएर हामीले विदेशी जनसम्पर्कको कुरा गरिहाल्यौँ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्