Logo

जोरविजोर प्रणाली उल्लङ्घन गर्ने बढे, चेकजाँच कडा बनाइँदै



काठमाडौँ, १४ असोज । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर सवारी सञ्चालन सम्वन्धि नियमको पालना भएनभएको अनुगमन तथा कारवाहीमा तिब्रता दिएको बताउनुभयो ।

‘उपत्यकाका सम्वन्धित जिल्ला प्रशासन कार्यालयहरूबाट जारी निषेधाज्ञा तथा जोर–विजोर सेवा हटिइसकेको अवस्था छैन, उहाँले भन्नुभयो– नियमित कारवाही अन्तरगत अनुगमन कार्यलाई थप कडा पारेको हो । उपत्यकाको मुख्य सडकचोकहरूमा ट्राफिक प्रहरीको जनशक्ति पनि बढाइएको छ । जोर– बिजोर प्रणालीको पालना नगर्ने सवारी साधनहरूलाई साँझ ८ वजेसम्मलाई सडकमै ‘होल्ड’मा राखिने जानकारी उहाँले दिनुभयो ।

होल्ड गरिएका सवारी साधनहरूमा दुई पाङ्ग्रे सवारी मोटरसाइकलहरू धेरै छन् । त्यस्तैं, कार र ट्याक्सी पनि कारवाहीमा परेका छन् । दिउँसो दुईवजेसम्म एकहजार सवारी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाले कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले जोर– विजोर यातायात सेवा सञ्चालन गर्न सर्वसाधारणमा आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन र सर्वसाधारणको भीड बढ्दै गएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्