Logo

बलात्कारका दोषीलाई कडा कारवाही गर्न सांसदहरुको माग



काठमाडौं, १४ असोज । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताउनुभएको छ । सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उहाँले त्यस्तो बताउनुभयो ।

घटनालाई राज्यले गम्भीर चुनौतीका रुपमा लिनुपर्ने सभामुख साकोटाले बताउनुभएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला साथ दिनु जनप्रतिनिधिहरुको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गर्नुभयो ।

आफ्नो तर्फबाट विशेष पहल गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । प्रतिनिधिसभा सदस्य आशाकुमारी वि।क। बझाङ, प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कैलाली, राष्ट्रिय दलित नेटवर्क आरडिएन का अध्यक्ष गणेश विश्वकर्मालगायतले मंगलबार सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको पहल गरिदिन ध्यानाकर्षण गराउनुभयो ।

घटनाको निष्पक्ष छानबिन गरी पीडकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि उहाँहरुले माग गर्नुभयो । पीडितलाई कानुनअनुसार कारवाही नहुँदा थप मनोबल बढ्ने भन्दै सरकारलाई गम्भीर बन्न उहाँहरुले आग्रह गर्नुभएको समाचार आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्