Logo

कात्तिक १ देखि अनराइभल भिसा खुला



काठमाडौं, असोज १४ । कोरोना भाइरसको कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते देखि खुला गर्ने भएको छ । कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने विषयमा अन्योल थियो ।

पर्यटन व्यवसायीहरूले पदयात्रा र पर्वतारोहण खुला गरे पनि अनराइभल भिसाका बारेमा निर्णय नगर्दा नेपाल आउन चाहने पर्यटक अन्योलमा परेको भन्दै सरकारसँग पटकपटक अनराइभल भिसा खुला गर्न माग गरेका थिए ।

पर्यटन मन्त्री योगेश भट्टराईले अनअराइभल भिषाको पेमेन्ट सिस्टमलाई समेत सहजीकरण गर्ने गरी नेपाल राष्ट्र बैंक तथा गृह मन्त्रालय र अध्यागमन विभागसँग समन्वय भइरहेको बताएका छन् । अब नेपाल आउन चाहने पर्यटक स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर आउन सक्ने उनले बताए ।

समूहमा नेपाल आउने पर्यटकहरूका लागि अनराइभल भिसा खुला गरिएको र नेपाल आउने पर्यटक ७ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानसहित मापदण्ड लागू गरिएको पर्यटन विभागका महानिर्देशक रूद्र सिंह तामाङले जानकारी दिए । अब पर्यटक नेपाल आउँदा ७२ घण्टाको पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर बराबरको प्रतिव्यक्ति बीमा गरिएको कागजातसमेत अनिवार्य गरिएको छ ।

पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बीमा गर्नुपर्ने छ ।

सरकारको यो निर्णयमा पर्यटन व्यवसायीहरूले भने असहमति व्यक्त गरेका छन् । उनीहरूले पर्यटन चलायमान बनाउन गरिएको निर्णय स्वागतयोग्य भए पनि पर्यटकको क्वारेन्टाइन बसाइ, पीसीआर टेस्टलगायत मापदण्ड अव्यावहारिक भएको प्रतिक्रिया दिएका छन् । विदेशबाट पीसीआर गरेर आएपछि ७ दिन लामो क्वारेन्टाइन र पुनः पीसीआर जस्ता मापदण्ड आवश्यक नभएको उनीहरूको धारणा रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्