Logo

चलायमान भएन सुनचाँदी बजार



काठमाडौं, असोज १४ । कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लामो बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो भएसँगै अहिले आर्थिक क्षेत्र चलायमान हुँदै गएको छ । तर, बन्दाबन्दी तथा निषेधाज्ञा खुुकुलो भए पनि सुन बजार भने अझै ठप्प अवस्थामा छ ।

मूल्य अकासिएपछि गत आर्थिक वर्षको सुरुदेखि नै सुनचाँदीको व्यवसाय खस्किँदै आएको थियो । त्यसमाथि कोरोना महामारी र त्यसको नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण सुनको व्यवसाय थप प्रभावित भएको थियो ।

तर, अहिले बन्दाबन्दी तथा निषेधाज्ञा खुकुलो हुँदा व्यवसायमा सुधार आउने अपेक्षा गरिए पनि कुनै सुधार नआएको व्यवसायीहरु बताउँछन् ।

अहिले दसैं–तिहारजस्ता चाडपर्वको सिजन पनि नजिकिँदै छ । सामान्य अवस्थामा यो समय सुन कारोबार उच्च हुनुपर्थ्यो । तर, यसपालि सुनको व्यवसायमा कुनै रौनक नआएको व्यवसायीहरुको गुनासो छ ।

सुनको मूल्य उच्च भएकैले यसको कारोबार हुन नसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

‘बन्दाबन्दीका कारण आर्थिक क्षेत्र प्रभावित हुँदा मानिसको आम्दानी घटेको छ । त्यसमाथि सुनको मूल्य बढ्दा उपभोक्ताले यसलाई प्राथमिकतामा राखेनन् । त्यसैले यसको बजार खस्किएको हो’, शाक्यले भने ।

अहिले आवश्यक परेका ग्राहक मात्र सुन खरिद गर्न आउने हुँदा पसल खोल्ने र बन्द गर्ने मात्र काम भएको उनले बताए ।

पहिला चाडपर्व सिजन र विवाहको लगन भएकाले असोजमा दैनिक ३५ केजीभन्दा बढी सुन खपत हुन्थ्यो । तर, अहिले त्यसको ५ प्रतिशत सुन खपत हुने गरेको उनी बताउँछन् । ‘विवाहको लगन भए पनि सुन कारोबारमा केही सुधार आउँथ्यो । तर, मलमासका कारण अहिले विवाहको लगन छैन,’ उनले भने, ‘सुन व्यवसाय पर्ख र हेरको स्थितिमा छ ।’

गत वर्ष असारमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ हाराहारी थियो । तर, गत वर्ष चीन र अमेरिकाबीचको व्यापार द्वन्द्व, इरान र अमेरिकाबीचको तनावलगायतका कारण विश्व बजारमै सुनको मूल्य बढ्यो । विश्व बजारको मूल्यअनुसार नै नेपालमा सुनको मूल्य निर्धारण गरिने हुँदा गत वर्षको साउनदेखि मूल्य बढ्न थालेको थियो ।

कोरोना महामारी सुरु भएपछि सुन मूल्य थप बढेर नयाँ उचाइमा पुग्यो । केही समयअघि नेपालमा सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो । अहिले घटेर प्रतितोला ९३ हजार रुपैयाँ हारहारीमा आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot