Logo

आरोपितको उमेरमा विवाद



बझाङ, असोज १४ । १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका बझाङको मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराको उमेरलाई लिएर विवाद देखिएको छ । प्रहरी, अस्पताल र राजेन्द्रको आमाबाबुले फरक–फरक उमेर दाबी गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा राजेन्द्रको उमेर २० वर्ष उल्लेख छ । मंगलबारको पत्रकार सम्मेलनमा बझाङ प्रहरी प्रमुख डीएसपी रूपक खड्काले पनि सोही दाबी दोहोर्‍याए । राजेन्द्रका बाबु वीरबहादुर बोहराले भने छोराको उमेर १४ वर्ष भएको दाबी गरेका छन् । उनले राजेन्द्र २०६३ असोजमा जन्मिएको बताए । ‘गते र बारचाहिँ मलाई थाहा भएन,’ उनले भने ।

प्रहरीले मेडिकल प्रक्रियाबाट राजेन्द्रको उमेर पत्ता लगाउन जिल्ला अस्पताल बझाङमा उमेर अनुमान परीक्षण (एज इस्टिमेसन टेस्ट) पनि गराएको थियो । उक्त परीक्षणमा उनको उमेर १४ देखि १६ वर्ष देखिएको अस्पतालका एक डाक्टरले बताए । तर प्रहरीले विद्यालयमा पेस गरिएको जन्मदर्ताको प्रमाण नै आधिकारिक हुने बताउँदै आएको छ । ‘हामीले स्कुलको जन्मदर्ता मगाएका छौं,’ डीएसपी खड्काले भने, ‘अस्पतालको भन्दा पनि त्यो नै आधिकारिक हुन्छ ।’

गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा–२ की सम्झनाको शव स्थानीय शिव मन्दिरमा फेला परेको थियो । घटनामा संलग्न रहेको आरोपमा सोही दिन प्रहरीले राजेन्द्रलाई पक्राउ गरेको थियो । यो घटनापछि राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरीसमेत परेको छ । सोही ठाउँकी १३ वर्षीया डिलकुमारी दमाई (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।

यसैबीच, घटना भएको सातौं दिनसम्म पनि सम्झनाको शव परिवारले बुझ्न नमानेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्