Logo

वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै



काठमाडौं, असोज १४ । राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भनी दायर रिट उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदैछ ।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टद्वारा दायर अलग अलग रिटमाथि गत साता न्यायाधीश डा आनन्दमोहन भट्टराईको इजलासले रिट निवेदकको मागबमोजिम आज असोज १४ गतेसम्मका लागि प्रतिवादी नं। ५ (वामदेव गौतम) लाई कुनै संवैधानिक पदमा नियुक्त नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

तर, रिट निवेदकहरुले मन्त्री पदमा नियुक्त नरियोस् भनी माग गरेकोमा बेञ्चले रिट निवेदकको मागभन्दा एक कदम अघि बढेर संवैधानिक अंगको नियुक्तिमाथि नै बन्देज लगाउने गरी अन्तरिम आदेश जारी गरेकोमा कानुनविद्हरुले आश्चर्य प्रकट गर्दै आएका छन् ।

उक्त मुद्दा आज भने सर्वोच्च अदालतको पूर्ण इजलास (१ नम्बर) मा पेसी चढेको छ ।उक्त इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा पाँच न्यायाधीश तोकिएका छन् ।

संवैधानिक इजलासका न्यायाधीशमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।



प्रतिक्रिया दिनुहोस्