Logo

‘पौडेल पक्षको विरोधपत्र केही पनि होईन, उहाँले मनमा लागेका कुरा साथीहरूको सहमतिमा लेखाउनुभएको छ’ : विश्वकर्मा



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालयमा बुझाएको पत्र सामान्य भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्,‘होइन, उहाँले मौखिक रूपमा राख्न सक्ने कुराहरूलाई लिखित, सामुहिक रूपमा नेताहरूको पनि हस्ताक्षर गरेर जसरी राख्नुभएको छ । त्यसलाई आउने १९ गते केन्द्रिय कार्यसमितिमा छलफल गरिन्छ । उहाँले कुराहरू राख्नुहोला । यसलाई सामान्य रूपमा लिनुपर्छ ।’  प्रस्तुत छ नेता विश्वकर्मासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

रामचन्द्र पौडेल समुहले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएको छ । अब तपाईँहरू के गर्ने ? त्यस मागलाई सम्बोधन गर्नुहुन्छ कि हुँदैन ?

होइन, उहाँले मौखिक रूपमा राख्नसक्ने कुराहरूलाई लिखित, सामुहिक रूपमा नेताहरूको पनि हस्ताक्षर गरेर जसरी राख्नुभएको छ । त्यसलाई आउने १९ गते केन्द्रीय कार्यसमितिमा छलफल गरिन्छ । उहाँले कुराहरू राख्नुहोला । यसलाई सामान्य रूपमा लिनुपर्छ ।

पार्टी सभापतिको विरुद्धमा पहिलो पटक पार्टी कार्यालयमा विरोधपत्र दर्ता भयो । अब त्यो सामान्य रूपमा लिने ?

रामचन्द्र दाईले पटक/पटक लिखित रूपमा यस्तो गुनासोहरू राखि नै रहनुभएको छ । यो अलि फराकिलो ठुलो रूपमा आएकोमात्रै हो । खासै त्यस्तो केही हो जस्तो लाग्दैन ।

केही हो जस्तो लाग्दैन, त्यसो भए ? यो केही पनि होइन यो विरोधपत्र ?

केही पनि होइन, होइन । उहाँले मनमा लागेका कुरा साथीहरूको सहमतिमा लेखाउनुभएको छ । लिखित रूपमा दिनुभएको छ । सायद उहाँको महाधिवेशन, नेतृत्वका लागि केही रणनीति अपनाउनुभएको हुनसक्छ । त्यसो भएको हुनाले यसैलाई नै पहाड खसेजस्तो गर्नुपर्दैन भन्ने मलाई लाग्छ ।

होइन, पहाड खसेजस्तो गर्नुपर्दैन भनेर तपाईँले भनिरहँदाखेरि रामचन्द्र पौडेल समुहको भनाईँ छ, महाधिवेशन समयमा हुनुपर्छ । फागुन ७ बाट हुनुपर्छ, त्यसमा विमत्ति छ कि छैन पार्टीभित्र ?

होइन, रामचन्द्र दाईलेमात्रै होइन । महाधिवेशन गराउने जिम्मेवारी सबै नेतृत्वको हो । त्यसमा पनि सबैभन्दा बढी सभापतिको हो । सभापतिले आफै तय गरेको कार्यतालिकामा कोभिड १९ को महाव्याधिले गर्दा हामी कसैले गर्न सकिराखेका छैनौँ । त्यसैले कुनै पनि निश्चित निर्धारण गरिएको यस कार्यतालिकाको महाधिवेशन गर्नको लागि दबाब दिएको जस्तो यो देखिँदैन । किनभने यसले महाधिवेशनलाई सहज बनाउँदैन । यसले महाधिवेशनलाई अप्ठ्यारो बनाउँछ ।

कसरी अप्ठ्यारो बनाउँछ ? महाधिवेशन समयमा नै गर्नुपर्दैन् ? कार्यतालिकाअनुसार जानुपर्दैन ?

होइन, कार्यतालिकामा जानुपर्छ । कसैको व्यक्तिका कारणले नभएको भए व्यक्तिलाई सचेत गर्ने कुरा हुन्छ । कुनै व्यक्तिको मनशाय नै गलत भएको थाहा पाएर त्यसको उपाय खोज्न सकिन्छ । संसार कोभिड–१९ को महाव्याधिबाट थलिएको छ । नेपाली जनता ढोका लगाएर भित्र बसेका छन्, बाहिर हिँड्न पाएका छैनन् । आमाले छोराछोरीलाई र छोराछोरीले आमालाई भेट्न पाएका छैनन्, साथीले साथी भेट्न पाएका छैनन्, काममा जान पाएका छैनन् । भोकभोकै हिँड्छन् । सिमानामा थुप्रिएका छन् । जहाँ गएको त्यही बन्दाबन्दीको अवस्थामा परेका छन् । भोक र रोगले आक्रान्त छन् । यो बेलामा कोही नेताले आफुलाई राजनेता, राष्ट्रिय नेता भनेर अनि महाधिवेशन छिटो गर, नेतृत्व चयन गरिहाल भन्ने कुरा मिल्दैन ।

होइन, अरू देशमा त निर्वाचन भईरहेको छ । विहारमा चुनाव हुँदैछ । भारतमा पनि त कोरोना संक्रमणको त्रास, प्रत्येक दिन त्यहाँ त महामारी, संक्रमणको सम्भावना बढेको छ । राष्ट्रपतिको निर्वाच अमेरिकामा हुँदैछ । दक्षिण कोरियामा निर्वाचन भयो । अरू देशमा निर्वाचन भईरहेको छ, नेपालमा तपाईँहरूले नेपाली कांग्रेसको महाधिवेशन गर्न नसक्ने ? यो त अति भयो नि ।

हाम्रो पनि आम निर्वाचन भए हरेक व्यक्ति पत्र लिएर गएर स्यानिटाइज गरिएको मतपत्र खुसुक्क हालेर आउने होइन । यो भनेको पार्टी हो ।

होइन, बङ्गलादेशमा निर्वाचन भयो विद्युतीय माध्यमबाट ?

हाम्रो निर्वाचन हो कि महाधिवेशन हो ? पार्टीको महाधिवेशन, अधिवेशन भनेको यसले नीति, विधि, सिद्धान्त, संगठन अनि बल्ल नेतृत्वको कुरा आउँछ । तर यहाँ कस्तो आत्मकेन्द्रित धारणा प्रस्तुत भईराखेको छ भने यो महाधिवेशन हो, यसले मान्छे छान्ने हो । कसलाई हटाउने हो ? कसलाई राख्ने हो ? भोट हालेर भईहाल्छ नि भन्ने छ । जब हामी भोटमा जान्छौँ, चुनावमा जान्छौँ, त्यहाँ त हामी मान्छे मात्र छान्छौँ नि त । त्यसैले फोटो हेरे भोट हाल्छौँ ।

तपाईँहरूले टेक्नोलोजी प्रयोग गरे हुन्छ नि त ?

यसमा पनि टेक्नोलोजीबारे छलफल भईरहेको छ नि त ।

अहिले त धेरै भास्ट टेक्नोलोजी आईसक्यो विश्वमा, नेपालमा पनि आईसक्यो । अब सबैलाई जम्मा गर्नुपर्छ भन्ने छैन नि काठमाडौँ महाधिवेशनमा ? ७ ओटै प्रदेशमा

तपाईँहरूले कार्यकर्तालाई बोलाएर, कांग्रेसको प्रतिनिधिलाई बोलाएर त्यहाँबाट पनि निर्वाचन गराउन सक्नुहुन्छ ?

पटक्कै हुँदैन ।

किन हुँदैन ? के कारणले हुँदैन ? मलाई बताउनुहोस् तपाईँ ?

हाम्रो महाधिवेशन प्रतिनिधि प्रदेशस्तरमा तीन हजारदेखि २२ सयसम्म पुग्नुहुन्छ । जिल्लामा हजारको हाराहारीमा महाधिवेशनमा प्रतिनिधि पुग्छन् । अनि हजार मानिसहरू भेला हुने, त्यसको लागि फेरि सदस्यता बाँडिएको छैन । नवीकरण गरिएको छैन । अब यो किन भएन भन्दा समायोजन भन्ने कुरा त आजभन्दा ठिक डेढ वर्ष अगाडि आदरणीय नेताहरू जसले आज ज्ञापनपत्र बुझाउनुभयो, उहाँहरूले यस्तै ज्ञापनपत्र बुझाएर यसरी नै अडान लिएपछि अनि निर्वाचन समितिलाई जिम्मा लगाएको हो । त्यो निर्वाचन समितिलाई उहाँहरूले कहिँ पनि लेख्नुभएको छैन । धेरै लामो ज्ञापनपत्रमा निर्वाचन समितिलाई बोलाई स्पष्टीकरण लिने वा सोध्ने, किन नगरेको भनेर खोजी गर्ने भएन ।

अहिले महाधिवेशन गर्न सकिँदैन भने तपाईँले जिकिर गरिरहँदाखेरि धेरैले भनेका छन्, गर्न सकिन्छ । सभापतिको इच्छाशक्ति चाहियो, शेरबहादुर देउवामा । उहाँले चाहनुभयो भने चार महिना बाँकी छ । अब नेपाल कम्युनिष्ट पार्टीको चैतमा हुँदैछ । अन्य पार्टीको धमाधम महाधिवेशन गर्ने भनेर मिति तोकिएको छ । अनि कांग्रेस ब्याक हुने, आफ्नो कार्यकाल सकिँदा पनि ?

मलाई लाग्छ, सभापतिजीलाई पनि र म पनि जुन पदमा छु, म जस्ता धेरै साथीहरूलाई यो महाधिवेशन हुन्छ भन्ने कुरामा, गर्नुपर्छ भन्ने पक्षमा हामी एकमत हो ।
गर्नको लागि त पहिला वातावरण त बनाउनुपर्छ नि त ? तपाईँहरू गुट बलियो बनाउनुहुन्छ ।

त्यसोभए स्कुल किन बन्द गरिएको त ?

स्कुल पनि खुल्ला भईसक्यो अब त ? कतिपय ठाउँमा, कर्णाली प्रदेशमा ?

स्कुलमा बीसजना भएको कक्षा किन नचलाएको ?

होइन चलिसक्यो नि ? तपाईलाई थाहा छैन् ?

एक्लाएक्लै कुद्ने सवारीसाधनलाई किन जोर कि विजोर भनिएको ? अनि के कारणले आधा कर्मचारी कटौती गरिएको ? किन कस्टुमरहरूलाई घरबाटै इलेक्ट्रोनिक बैकिङ्ग सेवा गर भनिएको ? किन मानिसहरू कोभिड १९ लाग्छ, महामारी भनेर हाहाकार गरेको ? किन सबैलाई पि.सि.आर जाँच्नुपर्छ भनिएको ? किन नेताहरूले घरमा भेटघाट छोड्नुभएको ? नेताहरूकोमा भेटघाट त छैन नि त ।

नेताहरूलाई डर छ नि । अब शेरबहादुर देउवालाई डर छ, तपाईँलाई थाहा छ । महाधिवेशन गर्दाखेरि मेरो सभापति पद जान्छ भन्ने डर छ उहाँलाई ?

आज राति पनि महाधिवेशन गरेर सक्दा हुन्छ, भोलि विहान गर्न सके पनि सभापति आजभन्दा तीनवर्षदेखि आत्तुर हुनुहुन्छ । सभापतिले यी कामकारबाही टाइममा गर्नुहुन्छ, मैले बुझेसम्म । अस्तिको केन्द्रिय कार्यसमितिमा पनि त्यही कुरा हँुदै थियो ।

तर उहाँले परिणाम दिनुभएन नि त । महाधिवेशन गर्नको लागि शेरबहादुर देउवाको सङ्कल्प खोइ ?

कार्यतालिकामा हेरफेर गर्ने भन्ने कुरा योभन्दा अगाडिको बैठकमा पनि कुरा उठेको थियो । यसमा रामचन्द्रजी के भन्नुहुन्छ, त्यही गर्ने भनिदिनुभयो सभापतिले । ल रामचन्द्रजीले सक्नुहुन्छ भने कति छिटो गर्न सक्नुहुन्छ ? तपार्इँकै नेतृत्वमा महाधिवेशन गरौँ पनि भन्नुभयो, सभापतिले । रामचन्द्रजीले के भन्नुभयो भने अहिले सार्ने कुरा नगरौँ, सार्न परे पछि नै सारौँला भन्नुभयो । अब अहिले सार्नुपर्दाको अवजशलाई सभापतिको टाउकोमा थुपारिदिने, त्यस्तो गलत मनशायबाट फेरि लिखित, अलिखित गुनासोहरूको बेलाबेलामा प्रस्तुत गर्नु उपयुक्त हुन्न ।

पार्टी विधि, विधान र प्रक्रियाअनुसार चलेन । रामचन्द्र पौडेल समुहको गम्भीर आरोप छ । शेरबहादुर देउवाले त्रुटि गर्नुभयो । विभागहरू खारेज हुनुपर्छ । अब भातृ संगठनको निर्वाचन हुनुपर्छ । क्रियाशील सदस्यतामा धाँधली हुनुहुँदैन ।

त्यहाँ किन नलेखिएको त ? महाधिवेशनमा तरुण दलको महाधिवेशन गर्दाखेरि महोधिवेशनको भोटिङ्ग गर्ने बेलामा गएर एकएकजना पदाधिकारीले भाग पाएपछि आज चारजना मात्र हुँदा किन विरोध नगर्नुभएको ? नेवि संघको वैधानिक अधिवेशन गर्ने समिति बनाऔँ भन्दा किन सहमति गर्नुभएका
? राम्रो राम्रो विभाग दिँदा विभागमा अलिकति तलमाथि हुँदा किन असहमति जनाउनुपर्ने ? त्यसकारणले यस्ता थुपै्रै कुराहरू छन् । कार्यसम्पादन समिति विधानविपरीत बनाउँदा उहाँहरू बस्ने, विधानसम्मत बनाउन नमान्ने, संसदीय बोर्डमा विधानविपरीत बनाउँदा उहाँहरू मज्जाले रमाएर बस्ने, चुनाव हारेपछि त्यसैमाथि असहमति जनाउने ?

शेरबहादुर देउवा कांग्रेस पार्टीैभित्र अल्पमतमा हुँदाखेरि शुशील कोइराला बहुमतमा हुँदाखेरि उहाँलाई पनि त बाध्य पार्नुभएको थियो नि । विभागहरू त्यतिखेर खारेज गराउनको लागि ?

मलाई त्यस्तो लाग्दैन् ऋषिजी ।

इतिहास साक्षी छ । झुटो कुरा नबोल्नुस् न । दिउँसै, विहानै रात पार्ने कुरा नगर्नुस् न तपाईँ ।

तत्कालीन सभापति शुशील कोइराला तत्कालीन सभापति हुँदा तरुण दल, महिला संघ र नेविसंघलाई हठात रूपमा सरसल्लाह नगरी विघटन भन्दा हामीले के भन्यौँ भने यो पार्टी एकता हुँदाको अवस्थामा कायम रहेको समिति भएको हुनाले कुनै एक अवस्थामा विघटन गर्ने होइन, यसको समाधान महाधिवेशनबाट खोजिनुपर्छ । विघटन गर्नु गल्ती भयो भनेर हामीले ‘नोट अफ डिसेन्ट’ लेखेका हौँ ।

होइन त्यतिखेर तपाईँहरू अनशन पनि बसेको हो नि । सबैलाई थाहा छ नि, पार्टी कार्यालयमा ?

अनशन तरुण दलकाले बसे ।

होइन पार्टी सभापतिको निर्देशनमा बसेको होइन ? त्यतिखेर शेरबहादुर देउवाको निर्देशनमा होइन ?

पार्टी सभापतिको निर्देशनमा हुन्थ्यो भने पार्टी सभापतिले गएर जुस खुवाउनुहुन्थ्यो ? पटक्कै होइन । दशैँको बेला थियो । सो¥ह श्राद्धमा पितृको श्राद्ध त्यही गरे । जमरा त्यही राखे । दशै मान्न पाउने अवस्था भएन । १२ जना अनशनकाहरू सिकिस्तै भए । अस्पताल लग्नुपरेको थियो । उपप्रधानमन्त्री तत्कालीन मन्त्री कोही पनि अनशनकारीको छेउमा पुग्नुभएन । अब मानिस मर्ने अवस्था भयो भनेपछि सभापतिले नैतिक रूपमा म शुलील कोइरालाले मनोनीत गरेको केन्द्रिय सदस्यको हैसियतले शुलील कोइरालाको भावनाविपरीत निर्णय गर्न सक्दिनँ भनेर केन्द्रिय सदस्यबाट राजीनामा गरेपछि मात्र उहाँले आलगफ्नो विरोधपत्र प्रेस विज्ञप्तिमा जारी गर्नुभएको हो ।

त्यसैले यति नैतिकता आज कोही नेताहरूसँग छ ?

होइन त्यतिखेर भागबण्डाको लागि उहाँले राजीनामा गर्नुभएको हो नि त ?
पटक्कै होइन । भागबण्डा गर्नका लागि होइन ।

नेपाली कांग्रेसमा भागबण्डाको सुरुवात गराउने त शेरबहादुर देउवा हो नि त ?

तीन वटा भातृ संस्थालाई हटाएर विघटन गरेपछि केही साथीहरू अनशनमा बसे । अनशनमा चौधदेखि पन्ध्र दिनसम्म पनि अनशनकारीको सम्बोधन भएन । सम्बोधन नभएपछि कोही न कोही एक जिम्मेवार नेता त जन्मिनुपर्छ, उनीहरूको प्राण रक्षा गर्नुपर्छ भनेर त्यही पनि उहाँले के भन्नुभयो भने म शुशील कोइरालाको कार्यसमितिको सदस्यले जुस खुवाउन सक्दिनँ, म वरिष्ठ नेता मात्र हुने हो भने मैले राजीनामा गर्नुपर्छ भनेर उहाँले दिउँसो चार बजे राजीनामा गर्नुभयो । राति आठ बजे जुस खुवाउन जानुभयो । अनशन तोडाउनुभयो र अस्पताल लैजानुभयो सबैलाई । प्राणरक्षा गराउनुभयो । त्यो सत्यलाई लुकाएर त्यसको गलत व्याख्या गरेर आज व्यक्तिको चरित्रमाथि आक्षेप लगायौँ भने पार्टी अगाडि बढ्दैन ।

कांग्रेस आज भताभुंग छ, देशमा यति भ्रष्ट्राचार बढेको छ । कांग्रेस मौन छ । गुपचुप छन् ।

भ्रष्टाचार देशभरि छ, अनियमितता छ ।

कांग्रेसले के गरेको छ, आज हाम्रो देशमा ?

आम नेपाली जनतालाई थाहा भएको कु्रा हो । मात्रै के हो भने अहिले यो सरकारले हिंसा, हत्या, बलात्कार, अत्याचार, भ्रष्ट्राचार सारा दुनियाँ गरिरहँदाखेरि काम सशक्त भएर प्रतिवाद गरेर जनतालाई विकृतिबाट मुक्त गर्नका लागि कांग्रेसले किन सकेन भन्ने नै प्रश्न हो भने कांग्रेस आन्तरिक यस्तै किचलोबाट अलिकति अगाडि बढ्नुपथ्र्यो, बढ्न सकेन । यो किचलोबाट निस्कनुपर्छ, कांग्रेस । यसबाट निस्कनका लागि सभापतिजीले पनि सबैलाई समेटेर लैजानुपर्छ र सभापतिकै हाराहारीको नेता हुँ भन्नेहरूले पनि यो मिनेट मिनेटमा, छिनछिनमा, घण्टा घण्टामा लिखित, अलिखित भन्दै प्रचारवादमा रमाउनुभएन । उहाँहरूले पार्टीमा सहमत भए पनि असहमत भए पनि प्रक्रियाभित्र जानुपर्छ । कि सहमति गर्नुपर्छ, कि बैठकको निर्णय मान्नुपर्छ । बैठकको निर्णय पनि नमान्ने, सहमति पनि गर्दिनँ भनेपछि के भनेको त ? पार्टी चल्न दिन्न भनेको हो । त्यस्तो अवस्थामा त कसले टुलुटुलु हेरेर बस्छ र ?

त्यसो भए विभागहरू गठनको प्रक्रिया रोकिदैँन ? खारेज हुँदैन ?

विधानमा उल्लेख भएका पार्टी संरचनाहरूलाई वैधानिक सभापतिले त्यसलाई पूर्णता दिएर जानुहुन्छ । कोही व्यक्तिले राम्रो काम गर्नका लागि रोक्नुहुँदैन भन्ने कुरा हो । अहिले विभाग, समितिहरू गठन गर्ने भनेको पार्टी कमजोर बनाउने होइन, पार्टी बलियो, मजबुत बनाउनका लागि हो । आम कार्यकर्ताालाई जिम्मेवारी बाँडफाँड गरिएको हो । सभापतिसँग भएको अधिकार हजारौँ साथीहरूको प्रत्योजन गर्छु भन्दाखेरि अनि कोलाहल मच्चाउनुपर्छ ? ढिलो भयो, उहाँहरूले नै गर्दा ढिलो भयो । उहाँहरूले सुरुमा नाम नदिएर ढिलो भयो, पछि काम गर्न नदिएर ढिलो भयो । निर्णय गर्न नदिएर ढिलो भयो । अब पनि गर्छु भन्दा नदिने ? अब त दिनुपर्छ नि ।



प्रतिक्रिया दिनुहोस्