Logo

पाकिस्तानमा सबै शैक्षिक संस्था खुल्यो



एजेन्सी, १४ असोज । कोरोना भाइरसको महामारीका कारण बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् ।

सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ ।

त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय शिक्षा मन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए ।

कोरोनाभाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उहाँले जानकारी दिए । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २६३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ७४७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या छ हजार ४७९ जना पुगेको छ । पाकिस्तानमा अहिले पनि कोरोनाभाइरसको सङ्क्रमणका कारण ४६७ जना गम्भीर अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये दुई लाख ९६ हजार ८८१ जना अहिले पूर्णरुपमा सङ्क्रमणमुक्त भइसकेका छन् ।

सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्