‘सरकारको कामबाट जनतामा असन्तुष्टि छ’ : ज्ञवाली


काठमाडौं, १५ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मन्त्रिमण्डल पूनर्गठनबारे छलफल चलिरहेको बताउँदै अहिले कति मन्त्री हट्ने र कति नहट्ने भन्नेबारे निश्चित् नभएको स्पष्ट पारेका छन् । नेपाली रेडियो नेटवर्कबाट हालै प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने,‘अब त्यो छलफल चल्दैछ । मलाई सबै थाहा त छैन तर सचिवालयमा छलफल चल्दैछ । दुईजना अध्यक्ष त बसि नै राख्नुभएको छ । केही मन्त्रीहरू हट्ने र केही मन्त्रीहरू रहने, अब त्यो निश्चित छ । कति रहने, कति हट्ने ? को हट्ने ? त्यो कुनै निश्चित छैन । त्यो थाहा छैन ।’ उनले मन्त्रिमण्डल पूनर्गठनको लागि कति समय लाग्छ ? भन्ने समय निश्चित नभएको बताए । तर, पूनर्गठन भने छिट्टै हुने उनको जिकिर छ । ‘समय कति लाग्छ, त्यो ठ्याक्कै भन्न सकिँदैन् । तर अब छिट्टै हुन्छ होला ।’–उनले भने ।

मापदण्ड के बनाउने अब ? योग्य, सक्षम मान्छे आउने कि नेताहरूको गोजीको मान्छे आउने ? त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘मापदण्ड योग्य, सक्षम, अहिलेसम्म काम गरेकाहरूको ठोस मूल्याकंन हुनुपर्छ । मनोवत रूपले होइन कि ठोस रूपमा मूल्याकंन हुनुपर्छ । कसले राम्रो गरेको अथवा गरेको छैन भन्ने कुरा । राम्रो गरेका अलिकति राम्रो स्थिति भएकाहरूलाई यथावत कायम राख्नुपर्छ । कमजोर अवस्थामा रहेकाहरूलाई हटाउँदा पनि हुन्छ । बाँकी जति पनि योग्य, क्षमतावान् सांसदहरू निर्वाचित छन्, तिनीहरूमध्येबाट राम्रो योग्यहरूलाई छानेर लिएर आउनुपर्छ ।’

उनले वर्तमान सरकारको बाँकी अवधिमा सरकारले जनताले अनुभूति गर्नेगरि राम्रा कामहरू गरेर देखाउनुपर्ने पनि धारणा राखेका छन् । उनले थपे,‘बाँकी अवधि सरकारले जनताले अनुभूत गर्नेगरी राम्रो कामहरू गरेर देखाउनुपर्छ । अहिलेसम्म जनताको त्यति सन्तुष्टि छैन, असन्तुष्टि छ ।’ ज्ञवालीले अहिले सबै मन्त्री हटाउने सम्भावना नभएको पनि स्पष्ट पारेका छन् ।

उनले भने,‘त्यो सबै हट्ने सम्भावना म देख्दिँन तर पनि अब यो सचिवालयमा के छलफल भएको छ, त्यसको आधारमा तय हुन्छ ।’ मन्त्रिमण्डल पूनर्गठनबारे सचिवालय बैठकमा कुराकानी तथा छलफल भैसकेको र उक्त बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड तयार पार्न अधिकार दिईएको पनि उनले जनाए ।  FILE PHOTO/REPORTERSNEPAL