Logo

गान्धीको आशिर्वाद सम्झेर गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेको प्रकाशमानको खुलासा



काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद त्याग्नुको खुलासा गरेका छन् । आज गान्धी जयन्तीका अवसरमा नीति अनुसन्धान प्रतिष्ठानले राजधानीमा आयोजना गरेको वेविनारमा बोल्दै उनले त्यस्तो खुलासा गरेका हुन् ।

प्रकाशमानले आफ्ना पिता गणेशमान सिंहले सन् १९४७ मा महात्मा गान्धीलाई भेटेको इतिहास समेत सुनाए । कृष्णप्रसाद भट्टराईसँग गएर भेटेको बखत गान्धीले लोकतन्त्रका लागि ठुलो आन्दोलन सफल गर्न सक्नु भनी आशिर्वाद दिएको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘मेरा पिताजी गणेशमान सिंहलाई गान्धीजीले भविष्यमा लोकतन्त्रका लागि ठुलो सफलता हासिल गर्ने भुमिका मिलोस् भनी आशिर्वाद दिनुभएको रहेछ ।’

२०४६ सालको जनआन्दोलनको कमाण्डर भएर गणेशमान सिंहले जनआन्दोलन सफल बनाउने श्रेय पाएको उल्लेख गरे । उनले भने, ‘त्यसलाई उहाँले गान्धीजीको आशिर्वाद भन्नुहुन्थ्यो ।’

देशमा जनआन्दोलनको सफलतापछि गणेशमान सिंहलाई प्रधानमन्त्रीको प्रस्ताव आउँदा गान्धीजीलाई सम्झिएको बताए । उनले भने, ‘पिताजीले गान्धीजीलाई सम्झिएर जनआन्दोलनको सफलता उहाँकै आशिर्वादले हो भनेर प्रधानमन्त्री पद समेत त्याग्नुभयो ।’ महात्मा गान्धीले पदका लागि कहिले कुनै कर्म नगर्नुभएको भन्दै आफ्ना पिताजीले गान्धीजीकै अनुशरण गरेर प्रधानमन्त्री पद समेत त्याग्नुभएको सिंहले बताए ।

वेविनारमा सिंहले नेपाल र भारतबीच सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन सके महात्मा गान्धीप्रति सच्चा सम्मान हुने बताए । उनले भने, ‘नेपाल-भारत सम्बन्धमा सुझबुझ र संयमताको जरुरी छ ।’

नेपालको राजनीति र समाजमा गान्धीवादको ठुलो प्रभाव रहेको उल्लेख गरे । उनले भने, ‘राजनीतिमा मूल्य मान्यता र निष्ठाको कति ठुलो महत्व हुन्छ भन्ने गान्धीजीले सन्देश दिनुभएको छ ।’ चरित्र र नैतिकतामा आधारित आन्दोलनले जस्तोसुकै नकारात्मक शक्ति पनि परास्त हुन्छ भन्ने गान्धीजीको विचारको आधारमा उठेको आन्दोलनको सफलताले प्रमाणित गरेको बताए ।-तस्वीरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्