Logo

तीन करोड भ्रष्टाचारको आरोपमा शर्माविरुद्ध अदालतमा मुद्दा दायर



काठमाडौं, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता गरेको ठहर गर्दै आयोगले शर्माविरुद्ध विशेष अदालत काठमाडौंमा बिहीबार आरोपपत्र दर्ता गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार, शर्माविरुद्ध कुल तीन करोड छ लाख ५४ हजार नौ सय बत्तीस रुपियाँ बिगो कायम गरिएको छ । शर्माले वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति र खर्च लगानीको स्रोत नखुलेको देखिएको छ । आयोगले शर्माको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको निष्कर्ष पनि निकालेको छ ।
सिडिई शर्माले आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्था तथा कम्पनीहरूका संस्थापक एवम् साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ । सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र शर्माकी श्रीमती बबिता फुयाल शर्मालाई प्रतिवादी कायम गरी सम्पत्तिहरु जफत गरिपाउन पनि मागदाबी गरिएको छ ।

पन्जियार पक्राउ

यसैगरी, आयोगको टोलीले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिएबापत सेवाग्राहीसँग घुसवापत लिएको २४ हजार नगदसहित कार्यालय सहयोगी दिलीपकुमार पन्जियारलाई पक्राउ गरेको छ । पन्जियार धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ वडा कार्यालयका सहयोगी हुन् । पन्जियारले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले वडा कार्यालय अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको आजको गोरखापत्रले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्