Logo

८२ विषयको पाठ्यपुस्तक गोदाममै थन्कियो



काठमाडौं, १६ असोज । जनक शिक्षा सामग्री संस्था लिमिटेडले तयार गरेको कक्षा ११ को नयाँ अनिवार्य दुई विषयको पाठ्यपुस्तक गोदाममै थन्किएको छ । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले पाठ्यपुस्तकको मूल्य नतोक्दा करिब ४ लाख थान पाठ्यपुस्तक गोदाममै थन्किएको हो ।

जनकबाहेक सूचीकृतमा परेका निजी छापाखानाले छपाइ गरेको ७९ विषयको पाठ्यपुस्तकको समेत मूल्य निर्धारण भएको छैन । कति मूल्यमा बेच्ने भन्ने विषयमा अन्योल भएपछि निजी प्रकाशक र वितरकले शिक्षा विकास तथा मानवस्रोत केन्द्र र पाठ्यक्रम विकास केन्द्रलाई मूल्य निर्धारण गर्न दबाव दिएको छ ।

जनकले करिब दुई महिना अघिदेखि अनिवार्य विषयको पुस्तक छपाइ शुरू गरेको केन्द्रले पटकपटक मूल्य तोक्न शिक्षा विकास तथा मावन स्रोत केन्द्रलाई आग्रह गरेको थियो । नयाँ पुस्तक प्रयोगमा ल्याउने वा पुरानै कोर्सअनुसार पढाउने भन्ने विषयमा निर्णय हुन नसक्दा मूल्य निर्धारण गर्न ढिलाइ भएको हो ।

जनक शिक्षाका प्रवक्ता चित्र आचार्यले नयाँ पाठ्यक्रमअनुसार नेपाली र अंग्रेजी विषयका २–२ लाख थान पुस्तक गोदाममै थन्किएको बताउनुभयो । ‘केन्द्रले मूल्य नतोकिदिँदा बिक्री गर्न समस्या भएको छ।’ –आचार्यले भन्नुभयो ।

अनिवार्य दुई विषयका पुस्तक छपाइ गरेर अर्को लट शुरू गर्दासमेत मूल्य तय हुन सकेको छैन । अनिवार्य तीन विषयमध्ये ढिलो गरी पाठ्यक्रम स्वीकृत भएको सामाजिक अध्ययनको प्रिन्ट रेडी कपी ९पीआरसी० तयार नभएको कारण हाललाई दुई विषयको मात्रै छपाइ भइरहेको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले एक दुई दिनभित्रै मूल्य निर्धारण हुने जानकारी दिनुभयो । पाठ्यपुस्तक मूल्य निर्धारण समितिका संयोजक रहनुभएका महानिर्देशक अर्यालले सो विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘ढिलो भएको हो, अब केही दिनमै निर्णय गर्नेछौं ।’

कक्षा ११ को भर्ना सकिएर पढाइ हुने तयारी रहेको अवस्थामा सरकारले पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न नसक्दा विद्यालय र विद्यार्थीलाई समस्या परेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले पुस्तकको मूल्य निर्धारण गर्ने जिम्मा केन्द्रको हुने भएकाले केही दिनमै निर्णय हुन सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो विषयमा छलफल भइरहेको र केही दिनमा निर्णय हुन सक्ने ।’ यसअघि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकको संयोजकत्वमा मूल्य निर्धारण हुने गरेको थियो ।

नियमावली परिवर्तनपछि शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशकको संयोजकत्वमा मूल्य निर्धारण समितिले मूल्य निर्धारण गर्ने गरेको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दाहालले सामाजिक अध्यययन विषयको पाठ्यक्रम तयारी भइसकेपछि पुनः परिवर्तन भएकाले नयाँ पाठ्यक्रम आउन केही ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘काम भइरहेको छ । एक दुई साताभित्र पीआरसी तयार हुनेछ ।’

जनक शिक्षाले चालू शैक्षिक सत्रमा तीन विषयको १२ लाख थान पुस्तक छपाइ गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षबाट कक्षा ११ मा नयाँ विषय लागू गरेको हो । ती विषयका पाठ्यपुस्तक बिक्री गर्ने जिम्मा जनकलाई नै दिइएको छ । जनकले केही थान पुस्तक क्षेत्रका गोदाममा पु¥याइसकेको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्