‘प्रक्रिया मिचेर’ मुख्यसचिव


काठमाडौं, असोज १६ । सरकारले प्रक्रिया मिचेर परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। यसबाट कर्मचारी प्रशासनमा थप चाकरी र चाप्लुसी बढ्ने आशंका विज्ञहरूले गरेका छन्। लोकदर्शन रेग्मीले कार्यकाल पूरा गरेर मुख्यसचिवबाट राजीनामा दिएको भए वैरागी सो पदमा पुग्न सक्ने थिएनन्। तर रेग्मीले कार्यकाल पूरा हुन करिब २० दिनअघि नै मुख्यसचिवबाट राजीनामा गरी वैरागीलाई सो पदमा पुग्ने बाटो खुला गरिदिएका हुन्।

रेग्मीले पूरा कार्यकाल काम गरेका भए कात्तिक ६ मा मात्र अवकाश पाउँथे। परराष्ट्र मन्त्रालयका सचिव वैरागीले असोज २२ मा सेवाबाट अनिवार्य अवकाश पाउँथे। तर वैरागीलाई मुख्यसचिव बनाउन त्यसअगावै रेग्मीलाई राजीनामा गर्न लगाइयो। सरकारले रेग्मीलाई बेलायतको राजदूत बनाउने आश्वासन दिएर राजीनामा गर्न लगाएको हो। उनलाई राजदूतमा नियुक्तिका लागि बिहीबारकै मन्त्रिपरिषद्ले सिफारिस पनि गरेको छ। वैरागीलाई पनि बिहीबारकै मन्त्रिपरिषद्ले मुख्यसचिव बनाउने निर्णय गरेको हो।

निजामती सेवा ऐनमा कार्यकाल पूरा हुनुअघि बहालवाला मुख्यसचिवले राजीनामा दिनुपर्ने व्यवस्था छैन। यसअघि एकजना बहालवाला मुख्यसचिवले कार्यकाल पूरा हुनअघि राजीनामा दिएका थिए। २०७३ सालमा तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले कार्यकाल पूरा हुन १५ दिनअघि राजीनामा दिएका थिए। उनको त्यो राजीनामा पनि व्यक्तिगत स्वार्थमा आएको थियो।

प्रशासनविज्ञ शारदाप्रसाद त्रितालले नियमित प्रक्रिया मिचेर वैरागीलाई मुख्यसचिवमा नियुक्त गरिएको प्रतिक्रिया दिए। ‘बहालवाला मुख्यसचिवलाई कार्यकाल सकिनुअघि राजीनामा गर्न लगाएर अर्कोलाई मुख्यसचिव बनाउनु भनेको नियमित प्रक्रिया मिच्नु हो,’ त्रितालले भने, ‘यसबाट मुख्यसचिवमा नियुक्ति पाउन चाकरी गर्ने प्रवृत्ति बढ्ने सम्भावना रहन्छ।’

रेग्मीले पूरा कार्यकाल काम गरेका भए चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्येबाट एकले मुख्यसचिव बन्ने अवसर पाउँथे। हाल घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति, ओली वन र अधिकारी सहरी विकास मन्त्रालयमा कार्यरत छन्। घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ गते सहसचिवबाट सचिवमा बढुवा भएका हुन्। निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिवमा बढुवा गर्न सरकारले बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गर्ने व्यवस्था छ।

अर्का प्रशासनविद् तथा प्रशासकीय अदालतका पूर्वसदस्य गोविन्द कुसुम भने नियमित कार्यकाल पूरा हुन केही दिनअघि बहालवाला मुख्यसचिवले राजीनामा गर्ने कानुनमा व्यवस्था नभए पनि कसैले स्वेच्छाले अवकाश लिन सक्ने बताउँछन्। बहालवाला सचिवहरू मध्येबाट जेष्ठता र कार्यकुशलाताका आधारमा मुख्यसचिव छान्ने अधिकार मन्त्रिपरिषद्मा निहित भएकाले मुख्यसचिवमा कसलाई बढुवा गर्ने भन्ने विषय प्रधानमन्त्रीको रुचिमा भर पर्छ।

वैरागी मुख्यसचिव भएपछि प्रतिस्पर्धामा रहेका पर्यटनसचिव केदार अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहकृष्ण सापकोटाको पनि बाटो बन्द भएको आजको नागरिक दैनिकमा खवर छ ।