Logo

भारतद्वारा ४१ एम्बुलेन्स र ६ बस उपहार प्रदान (फोटोफिचर)



काठमाडौं, १६ असोज । भारत सरकारद्वारा नेपालका ३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संघ संस्थालाई ४१ एम्बुलेन्स र ६ बस उपहार स्वरुप प्रदान गरेको छ । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले साचो हस्तान्तरण गरेका हुन् ।

भारतीय राजदुतावासका अनुसार एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिदै स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरिएको हो ।

एम्बुलेन्स प्राप्त गर्ने विभिन्न संघ संस्थाहरु नेपालका दुर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् । विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको जनाएको छ ।

सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका एड्भान्स लाइफ सपोर्ट,बेसिक सपोर्ट र कमन लाइफ सपोर्ट एम्बुलेन्स प्रदान गरेको जानकारी दिएको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका दुतावासले जनाएको छ ।

एड्भान्स लाइफ सपोर्ट अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् । बेसिक सपोर्ट एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुने जनाइएको छ । कमन लाइफ सपोर्ट अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त हुने बताइएको छ ।

आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको विज्ञप्तीमा उल्लेख छ । यसैगरी भारतीय राजदुत क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी भावपूर्ण श्रद्घाञ्जली अर्पण गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्