बामदेव गौतमका सम्बन्धमा दायर मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई शुरु


काठमाडौं, १६ असोज । राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमविरुद्ध दायर मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई शुरु भएको छ । आज बामदेवको पक्ष र सरकार पक्षका कानुन व्यवसायीहरुले बहस शुरु गरेका छन्।

बुधबार बहस नसकिएपछि बामदेवको सम्बन्धमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । बुधबार बामदेवविरुद्धको मुद्दामा संवैधानिक इजलाश गठन गरिएको थियो । यो मुद्दाको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दिपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् ।

५ असोजमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय खारेज गर्नु र मन्त्री बन्न नदिनु भनी दायर गरेको मुद्दामाथि न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले अन्तरिम आदेश जारी गर्दा नै राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमलाई कुनैपनि सवैधानिक जिम्मेदारी दिने कार्य नगर्न भनेको थियो । बामदेवमाथिको मुद्दाको संवैधानिक इजलाशबाट अन्तिम किनारा लगाउन १४ असोजका लागि सुनुवाई तोकेको थियो ।

यसअघि ७ असोजमा न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले जारी गरेको आदेशमा भनिएको छ, ‘विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो नलागेसम्म यो विषयलाई यथास्थितिमा राख्नु आवश्यक देखिंदा विपक्षीको हकमा थप संवैधानिक जिम्मेदारी दिने लिने कार्य नगर्नू, नगराउनू भनी सर्वोच्च अदालतको नियमावली, २०७४ को नियम ४९ २ ९ख० बमोजिम विपक्षीहरुका नाउँमा यो अन्तरिम आदेश जारी गरिएको छ ।’-फाइल तस्वीर