Logo

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना



१६ असोज: ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ ।

अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । यस वर्ष १८ हजारलाई शरणार्थीका रुपमा अमेरिकामा प्रवेश दिइने प्रस्ताव गरिएको थियो ।

तोकिएको संख्याभन्दा यस वर्ष केही कम अर्थात् १० हजार ८०० ले शरणार्थीका रुपमा अमेरिका प्रवेश पाएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

ट्रम्प प्रशासनको पत्रका बारेमा कंग्रेसमा छलफल हुनेछ । कंग्रेसले शरणार्थीको संख्या कटौती गरेकामा आपत्ति जनाएको छ, तर ट्रम्प प्रशासनले गरेका निर्णय विरुद्ध कंग्रेस जान सक्ने सम्भावना कमै छ ।

अमेरिकी राष्ट्रपतिले मिनेसोटाको डुलुथमा आयोजित चुनावी सभामा शरणार्थीको संख्या कटौती गर्ने आफ्नो पूर्वघोषित नीति रहेको बताउँदै विपक्षी डेमोक्रेटिक पार्टीका जो बाइडेन मुलुकमा अधिकाधिक विदेशीहरु भित्र्याउन चाहने व्यक्ति भएको बताए ।

उनले भने, “बाइडेनले मिनेसोटा राज्यलाई शरणार्थी शिविर बनाउन चाहन्छन, र यसबाट सरकारी स्रोतसाधनको बढी खर्च हुने, विद्यालयहरुमा बढी विद्यार्थी हुने तथा अस्पतालमा बिरामीको चाप बढ्ने हुन्छ । यो सबैलाई थाहा भएकै कुरा हो ।”

राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस महामारी शुरु भएपछि गत मार्चदेखि शरणार्थीको प्रवेशलाई रोकेका छन् । उनले कोरोनाभाइरसबाट क्षति पुगेको अर्थतन्त्र र रोजगारीलाई शरणार्थी भित्र्याएर थप संकटमा पार्न आफूले नचाहेको स्पष्ट गरे ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले विश्वका संकटग्रस्त क्षेत्रमा मानवीय सहायता उपलब्ध गराउन अमेरिका सदैब तत्पर रहेको बताउँदै आगामी दिनमा पनि अमेरिकाले यस्तो सहायतालाई निरन्तरता दिने जानकारी दिए ।–एपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्